‘इआरटी’ प्रविधिको प्रयोग गरी नेपालमा पहिलो पटक ‘दैबुजल गुफा’को अन्वेषण



काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ थानकोट भेगस्थित ऐतिहासिक ‘दैबुजल गुफा’को अन्वेषण गरिएको छ । चन्द्रागिरिको सहकार्यमा त्रिभुवन विश्वविद्यालय, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागले संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रको प्राविधिक सहयोग नेपालमा पहिलो पटक ‘इआरटी प्रविधि’को प्रयोग गरी पुरिएको पुरातात्विक गुफाको अन्वेषण सम्पन्न गरेको हो ।

इआरटी प्रविधि अर्थात् ‘इलेक्ट्रिकल रेसिस्टिभिटी टोमोग्राफी ’को प्रयोग गरी पुरिएको गुफा क्षेत्रमा अन्वेषण गरिएको हो । इआरटी विद्युतीय प्रवाहका आधारमा जमिनमुनिको वस्तुस्थिति पत्ता लगाउने प्रविधि हो । यस परियोजनामा करिब २०० मिटर लम्बाइ र करिब ४० मिटर गहिराइसम्म पुग्ने गरी दुई स्थानमा करेन्ट प्रवाह गरी खोजी गरिएको अन्वेषणमा संलग्न जियोलोजिस्ट खगेन्द्र दाहालले जानकारी दिए ।


चन्द्रागिरि– ४ स्थित थानकोट भेगमा पर्ने दैबुजल क्षेत्रमा विगत तीन दशकदेखि पुरिएको भनिएको गुफाको यकिन स्थान पहिचान हुन नसक्दा प्रागऐतिहासिक महत्व रहेको हुनसक्ने गुफा ओझेलमा पर्दै आएको जनाइएको छ ।

नगरपालिकाले सो गुफाको अन्वेषण तथा खोजीमा सहयोग गरिदिन त्रिविविमा पत्राचार गरेपछि संस्कृति विभागले तत्कालीन विभागीय प्रमुख प्रा डा सोमप्रसाद खतिवडाको नेतृत्वमा सात सदस्यीय विज्ञ समिति गठन गरेको थियो । सोही टोलीले जेठ २ गते प्रस्तावित गुफा क्षेत्रमा इआरटीप्रविधिको प्रयोग गरी अन्वेषण गरेको थियो ।

पहिलो चरणमा विज्ञ टोलीले स्थानीवासीसंगको अन्तवार्ता सहित इआरटी प्रविधिले देखाएका नतिजा (भूभौतिकि ) प्रतिवेदन आइतबार चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, उपप्रमुख वसन्ती श्रेष्ठ र नगरप्रवक्ता एवं चन्द्रागिरि ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीलाई हस्तान्तरण गरेको थियो । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रका अध्यक्ष सुदर्शन अर्यालको नेतृत्वमा खटिएको प्राविधिक टोलीले जेठ ६ गते विश्वविद्यालयसमक्ष इआरटीको प्राविधिक प्रतिवेदन पेस गरेको थियो ।

सो अवसरमा नगरप्रमुख गिरीले गुफाको अध्ययन सम्पन्न भएपछि यसको संरक्षण गर्दै सो क्षेत्रमा ऐतिहासिक एवं पर्यटकीय गन्तव्यको क्षेत्र बनाउने योजना नगरपालिकाको रहेको जानकारी दिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्यालले विज्ञ टोलीद्वारा प्राप्त सुझावका आधारमा पुरातत्व विभागसंग समन्वय गरी ‘दैबुजल गुफा’को थप अन्वेषण कार्य अगाडि बढ्ने जानकारी दिए ।

उनले भने, “प्रतिवेदनका आधारमा नगरपालिकाले अगामी दिनमा आफ्नो नीति बनाउँछ । कला, सस्कृति तथा पुरातात्विक वस्तुको संरक्षण एवं खोजीमा त्रिविविसंग सहकार्य निरन्तर जारी रहन्छ ।”

अध्यक्ष अर्यालका अनुसार प्रस्तावित गुफा अन्वेषणको क्रममा जमिन सतहको पाँच मिटर गहिराइमा करिब १२ मिटर लम्बाइमा फैलिएको भागमा उच्च प्रतिरोधात्मकता भेटिएको छ ।

उनले भने, “ इआरटी प्रविधिको नतिजालाई सुक्ष्म अध्ययन गर्दा गुफा रहेको सङ्केत गरेको छ ।” तर सो क्षेत्रको उत्खननलगायत जमिनमुनिको संरचनाको प्रत्यक्ष खोजी गर्नका लागि पुरातत्व विभागसँग स्वीकृति लिएर मात्रै थप अनुसन्धान आवश्यक पर्ने उनको सुझाव छ ।

अध्ययनबाट प्राप्त नतिजाका बारेमा प्रस्तुतीकरण दिँदै युवा अन्वेषक अर्यालले यो परियोजनाले नेपालीहरु आफ्नै स्रोत र जनशक्ति प्रयोग गरेर पुरातात्विक अन्वेषण गर्न सक्षम छन् भन्ने प्रमाणित गरेको बताए । उनले वैज्ञानिक विधिबाट गरिने पुरातात्विक अन्वेषणमा विदेशी विशेषज्ञको निर्भरता अन्त्य गर्नुपर्नेमा जोड दिए ।

नेपाली जनशक्ति र स्रोतबाटै गुफा अन्वेषणमा यसरी भूभौतिकी सर्वेक्षण गरिएको सम्भवतः पहिलो पटक भएको उनको दावी छ । त्यस्तै, यस परियोजनाका संयोजक प्रा डा सोमप्रसाद खतिवडाले चन्द्रागिरि क्षेत्र ऐतिहासिक समयदेखिकै मानव बसोबासको क्षेत्र हुने पर्याप्त सम्भावना देखिएकाले यस क्षेत्रको प्राग् ऐतिहासिक अध्ययन हुनु जरुरी रहेको बताए ।

त्यस्तो अध्ययनका लागि त्रिविविको संस्कृति विभाग सक्षम रहेको जनाउँदै चन्द्रागिरि र त्रिविविको सहकार्यमा यस्ता अध्ययन अन्वेषणको काम गर्नु उचित हुने उनले सुझाव दिए ।

कार्यक्रममा त्रिवि संस्कृति विभागका विभागीय प्रमुख महेशकुमार आचार्यले पौराणिक वाणासुर गुफा र सुन्दर एवं भव्य सुप्रभा नगरिको चर्चा रहेको यो क्षेत्रमा गुफालगायत अन्य विविध सांस्कृतिक एवं पुरातात्विक खोजी आवश्यक रहेको बताए । उनले यस्तो अध्ययनका लागि विश्वविद्यालय नै उचित संस्था भएको जनाउँदै चन्द्रागिरि र त्रिविवि मिलेर यस्ता स्थलको अध्ययन अन्वेषण गर्नुपर्ने बताए ।