अन्तशुल्कको स्टिकर खरिद प्रकरणमा मुख्यसचिव अर्यालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

अहिले विशेष अदालतमा अख्तियारले पेश गरेको आरोपपत्र, मुद्दाको मिसिल र प्रमाण कागजात रुजु गर्ने काम भइरहेको छ ।


अर्यालसमेत विरुद्ध अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा अख्तियारले मुद्दा दर्ता गर्न लागेको हो । तत्कालीन सञ्चारसचिव रहेको बेला अर्यालले सो स्टिकर छपाइसम्बन्धी ठेक्का लगाउने निर्णय गरेका थिए । 

विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएका बेला ४३ करोड ३२ लाख अन्तःशुल्क स्टिकर छाप्नका लागि ठेक्का आह्वान गरिएको थियो । हालका मुख्यसचिव अर्याल तत्कालीन अवस्थामा सञ्चार सचिव थिए ।

९ महिनामा ४३ करोड ३२ लाख स्टिकर छाप्ने भनी सुरक्षण मुद्रण केन्द्र र प्रिन्ट सेलबीच झन्डै ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

विगतमा प्रतिस्टिकर ३५ पैसामा छापिने गरेकोमा ८५ पैसा प्रतिस्टिकरमा छाप्नेगरी ठेक्का लगाएर अनियमितता गरेको भन्दै उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो ।

छानबिनका क्रममा तत्कालीन सञ्चार सचिव (हाल मुख्यसचिव) अर्याललगायत संलग्नता पुष्टि भएको जिकिर अख्तियारको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेलगत्तै मुख्यसचिव डा. बैकुण्ठ अर्याल निलम्बित भएका छन् । भ्रष्टाचारसम्बन्धी मुद्दा दायर भएलगत्तै निजामती कर्मचारी स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ ।