हुलाकी राजमार्ग: रतुवा पुल निर्माण तीव्र



झापा। हुलाकी राजमार्ग अन्तरगतको झापा र मोरङलाई जोड्ने रतुवा खोला पुलको भौतिक प्रगति ६५ प्रतिशत भएको हुलाकी सडक योजना कार्यालय इटहरीले जनाएको छ। करिब डेढ दशकदेखि अलपत्र रहेको सो पुल निर्माणका लागि विसं २०७९ पुस १७ गते देव एण्ड सायर–समता आशिष सन्दिप जेभीसँग पुनः सझौता भएको हो।

इटहरी कार्यालयका सूचना अधिकारी प्रभातकिरण राईका अनुसार पुल निर्माणकार्य तीव्र गतिमा भइरहेको छ। विसं २०८२ असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी रु २२ करोड, १२ लाख ३७ हजार ६६० मा निर्माण कम्पनीले पुल पुनः ठेक्का लिएको हो।


उनले सडकको भौतिक प्रगति ६४ दशलमव १७ प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत भइसकेको जानकारी दिए। पुलको फाउण्डेसन र सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको उनले बताए। पुलको सुपरस्ट्रक्चरको दुई वटा स्लाबको ढलान सम्पन्न भइसकेको र बाँकी रहेको एउटा स्लाबको डण्डीको कार्यसमेत भइरहेको जानकारी दिए।

विगत १५ वर्षअघि निर्माणकार्य अलपत्र पारिएको पुलको झापातर्फ २५ मिटर र मोरङतर्फ ५० मिटर निर्माण गरेसँगै दुई सय ८० मिटरको पुल बन्ने सूचना अधिकारी राईले बताए। यसअघि विसंं २०६४/६५ मा कालिका–ओसिए जेभीले २०५ मिटर निर्माण गरेर अलपत्र अवस्थामा पुललाई छोडेको थियो।

पूर्व–पश्चिम राममार्गको विकल्पको रुपमा निर्माण भएको हुलाकी राजमार्गमा पर्ने रतुवा खोलाको पुल निर्माणसँगै कोशी प्रदेशको राजधानी पुग्न दक्षिण झापाका बासिन्दालाई सहज हुनेछ। हुलाकी राजमार्गको पूर्वमा मेचीदेखि पश्चिममा कञ्चपुरको दोधारा चाँदीसम्मको कूल लम्बाई एक हजार आठ सय ८७ किलोमिटर रहेको छ।

कार्यालयका सूचना अधिकारी राईले भने, ‘निर्माण व्यवसायीले निर्माण कार्यलाई तीव्र रुपमा अघि बढाइरहेका छन्। यही क्रममा काम हुने हो भने सम्झौता मिति भन्दा अवागै काम सकिन्छ।’ हुलाकी राजमार्ग अन्तरगतका झापा खण्डका पुलमध्ये कनकाई नदीको पुल बन्न बाँकी रहेको छ। झापा खण्डका आठ पुलमध्ये छ वटा निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी दुई वटा पुलको काम धमाधम भइरहेको उनको भनाइ छ।

हाल वर्षायाम सुरु भएका कारण केही समय पुलको काम रोकिन सक्ने उनले बताए। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ। सडक निर्माणको काम भने गतवर्ष सकिएको कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here