हाफ म्याराथनको उपाधि पुलिसकी राजपुरा पछाईलाई



काठमाडौँ । सशस्त्र प्रहरी परिवार महिला सङ्घको २३औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजना गरिएको ‘दोस्रो महिला हाफ म्याराथन प्रतियोगिता २०८१’ को उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले हात पारेकी छन् ।

उनले निर्धारित २१ दशमलव शून्य ९८ किमीको दुरी एक घण्टा १९ मिनेटमा पूरा गरी प्रथम भएकी हुन् । प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लबकी राजपुरा पछाईले  एक लाख प्राप्त गरिन् ।


सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकबाट सुरु भई बालाजु चोक–नयाँ बसपार्क–वसुन्धारा–महाराजगञ्ज चोकलाई दायाँ पार्दै त्रिवि शिक्षण अस्पताल–लैनचौर–जमल–घण्टाघर–सहिदगेट–त्रिपुरेश्वर–टेकु–कालीमाटी–रविभवन–कलङ्की हुँदै एपिएफ रङ्गशाला हलचोकमा पुगेर दौड समापन भएको थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उद्घाटन गरेको प्रतियोगितामा सशस्त्र प्रहरी परिवार महिला सङ्घका केन्द्रीय अध्यक्ष अनीता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, महिला सङ्घका पदाधिकारीलगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थितिमा कार्यक्रम भएको हो ।

प्रतियोगितामा दोस्रो हुने नेपाल पुलिस क्लबकी राममाया बुढाले एक घण्टा २३ मिनेट १० सेकेन्डमा निर्धारित दूरी पार गरी ७५ हजार तथा तेस्रो हुने नेपाल एपिएफ क्लबकी पुष्पा भण्डारीले एक घण्टा २५ मिनेट ४५ सेकेन्डमा पार गरी  ५० हजार जितेकी छन् ।

उपाधि हासिल गर्ने धावकलाई यही असार १७ गते वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार चौथोदेखि दसौँ स्थान हासिल गरेका धावकलाई आजै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितमा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लबलगायत सशस्त्र प्रहरी बल नेपालका वाहिनी मुख्यालय तथा देशैभरका महिला धावकको सहभागिता रहेको थियो ।

आजै सम्पन्न ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८१’ मा दीपा परियार प्रथम, लीला राई दोस्रो र रीना माझी तेस्रो भएका छन् । उनीहरुलाई सशस्त्र प्रहरी परिवार महिला सङ्घका अध्यक्ष अर्यालले पुरस्कार, मेडल र प्रमाणत्र प्रदान गरेकी थिइन् ।