सहकारी ठगी छानविनका लागि बनेको संसदीय विशेष समितिको बैठक जारी



काठमाडौं । सहकारी ठगी प्रकरण छानविनका लागि बनेको संसदीय विशेष समितिको बैठक सुरु भएको छ । बैठक केही समय अघिदेखि सिंहदरबारमा बसिरहेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरोध गरेपछि अन्ततः छानविन समिति बनेको थियो ।


उक्त समितिमा एमालेका सांसद् सूर्यबहादुर थापाक्षेत्री सभापति छन् । नेपाली कांग्रेसबाट बद्री पाण्डे, ईश्वरीदेवी न्यौपाने, एमालेबाट सरिता भुषाल, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य छन् ।

उपप्रधान एवं गृहमन्त्री लामिछाने गोर्खा मिडियामा कार्यरत रहँदा गैरकानुनी रुपमा सहकारीको ऋण लिएर अपचलन गरेको कांग्रेसको आरोप छ । समितिको कार्यादेशमा उपप्रधान एवं गृहमन्त्रीमाथि छानविन हुने उल्लेख नरहेपनि गोर्खा मिडियाका तत्कालीन पदाधिकारीहरु माथि आवश्यक परे छानविन हुनसक्ने उल्लेख छ ।