सहकारी छानबिन संसदीय विशेष समितिको कार्यविधि पारित



काठमाडौं । सहकारीको बचत रकम ठगी सम्बन्धी छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको कार्यविधि पारित भएको छ । आइतबार बसेको समितिको बैठकमा मस्यौदामाथि छलफल पश्चात छानबिन प्रक्रियाको कार्यविधि पारित भएको हो ।

समितिले विगतमा विभिन्न छानबिन समिति,जाँचबुझ आयोग लगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन यस अघि नै पत्राचार गरेको र धेरै जसो उपलब्ध भइसकेको तथा बाँकी उपलब्ध गराउन बैठकले फेरी निर्देशन दिएको छ ।


समितिले आगामी दिनमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र समस्याग्रस्त सहकारीका व्यवस्थापनसँग छलफल गर्ने तयारी गरेको छ। समितिले सहकारी ठगि प्रकरणमा नाम मुछिएका व्यक्तिहरुसँग पनि सोधपुछ गर्ने भएको छ ।

आजको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका प्रमुख सचेतक, टीओआर निर्माण गर्दा बनेको कार्यदलका सदस्यहरु सहभागी थिए।

गत जेठ १५ गते गठन भएको समितिमा एमाले सांसद सुर्य थापा संयोजक रहेका छन् भने एमालेकी सरिता भुसाल, कांग्रेसबाट इश्वरीदेवी न्यौपाने र बद्री पाण्डे, राप्रपाबाट ध्रुवबहादुर प्रधान, माओवादी केन्द्रबाट लेखनाथ दाहाल र रास्वपाबाट शिशिर खनाल सदस्य रहेका छन्।

समितिलाई तीन महिनाभित्र कार्यसम्पन्न गरि प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।