सरकारले निकै महत्वकांक्षी भएर बजेट ल्यायोः दिलेन्द्र बडू



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र बडूले सरकारले निकै महत्वकांक्षी भएर बजेट ल्याएको बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैै सांसद बडूले योजना आयोगले दिएको सिलिङभन्दा पनि बढाएर र चालु वर्षको भन्दा पनि ५० अर्ब २८ करोडभन्दा बढी बढाएर बजेट ल्याइएको बताए । उनले बजेट बढेसँग पुँजीगत खर्च पनि बढेको र त्यो खर्च हुनेमा चाहीँ आशंका रहेको बताए ।

‘निकै महत्वकांक्षी भएर नै बजेट ल्याएको देखिन्छ । योजना आयोगले दिएको सिलिङभन्दा पनि बढाएर र चालु वर्षभन्दा पनि अझै ५० अर्ब २८ करोडभन्दा बढी बढाएर बजेट ल्याउनु भएको छ । स्वभाविक रुपले उहाँले पुँजीगत खर्च पनि बढाउनु भएको छ । झण्डै ३ खर्ब ५२ अर्ब ३५ करोडको पुँजीगत खर्चको अपेक्षा गर्नुभएको छ । त्यो पुँजीगत खर्च साँच्चै खर्च हुन्छ ?’ उनले प्रश्न गरे ।