सत्ताका लागि लम्पसार पर्नेहरूले मलाई भारतीय दलाल देखे : बाबुराम भट्टराई



काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूलाई भारतीय दलाल भन्ने गरेको भन्दै आपत्ति जनाएका छन् । 

भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि प्रबुद्ध व्यक्ति समूह (इपीजी) बनाएर समस्या समाधान गर्नुपर्छ भनेर सुरु गरेको आफूलाई भारतीय दलाल भन्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । सत्ताका लागि लम्पसार पर्नेहरूले आफूलाई गलत आरोप लगाएको उनको भनाइ थियो ।


पार्टी स्थापना दिवसको अवसर पारेर बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भारतसँगको समस्या समाधान गरौँ भन्ने आफूलाई दलाल देख्ने तर कुर्सीका लागि भारतसँग लम्पसार गर्नेहरूलाई राष्ट्रवादी देख्ने भएकाले मुलुक बन्न नसकेको जिकिर गरे । 

उनले आफूले राजतन्त्रको अन्त्य गर्ने सङ्कल्प लिएकाले कम्युनिस्ट पार्टीमा लागेको र त्यसको अन्त्य भएपछि छोडेको पनि स्पष्ट पारे । अध्यक्ष भट्टराईले भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्नका लागि पनि मुलुकमा वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताए । 

उनले भने, ‘भारतसँगको सन्धि, सम्झौताहरू जुन हुन् । प्रबुद्ध व्यक्ति समूहको आधारमा फेरि पुनर्लेखन गरौँ भन्ने त बाबुरामले नै सुरु गरेको हो । र अहिले त्यो हरायो । उल्टो बाबुराम त भारतीय दलाल भयो भन्छन् ।’

अध्यक्ष भट्टराईले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउन जनलोकपाल गठन गरेर अघि बढनुपर्ने प्रस्ताव समेत गरे । दलहरुले आफ्नो मान्छेलाई नियुक्त गर्ने भएकाले विद्यमान अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायहरुले भ्रष्टाचारको अन्त्य गर्न नसक्ने उनको जिकिर थियो ।