सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन माग



काठमाडौं। सगरमाथा आरोही संघले सगरमाथा आधार शिविरभन्दा माथि हुने हेलिकप्टर उडानको प्रभावकारी अनुगमन गर्न माग गरेको छ। संघले आज एक विज्ञप्ति जारी गर्दै सगरमाथा क्षेत्रमा हेलिकप्टर कसरी र किन उडे भन्ने विषयमा नियामक नेपाल नागरिक उडड्यन प्राधिकरणले अनुगमन बढाउनुपर्ने खाँचो औँल्याएको हो।

साथै संघले सगरमाथालगायत हिमाली क्षेत्रलाई संरक्षण गर्न कडा कानुनी व्यवस्था गर्न पनि सरकार समक्ष माग गरेको छ। हिमाल आरोहणलाई व्यवस्थित गर्न तथा आगामी दिनमा आठ हजार मिटरको हिमाल आरोहण गरेकालाई मात्र सगरमाथा आरोहणको अनुमति दिन संघले सुझाएको छ। सगरमाथा क्षेत्रबाट समाचार सम्प्रेषणमा एकद्वार प्रणाली कायम नहुँदा सगरमाथाबारे गलत प्रचार प्रसारको जोखिम बढिरहेकोमा पनि सञ्चारमाध्यमहरुलाई ध्यानाकर्षण गराएको छ।


सगरमाथा आधार शिविरमा पर्यटन विभाग, खुम्बु पासाङल्हामु गाउँपालिका, सुरक्षाकर्मीसहितको कमाण्ड र सरोकारवाला संघ–संस्था संलग्न अनुगमन टोली बनाएको खण्डमा सगरमाथा आधार शिविर र सो भन्दा माथिको कार्य प्रभावकारी हुने संघले विज्ञप्तिमा जनाएको छ। संघको एक प्रतिनिधिमण्डलले हालै गरेको अध्ययन अनुसन्धानबाट सगरमाथाको दोस्रो शिविरमा प्रति आरोही न्यूनतम आठ केजी र सो भन्दा माथि थप आठ केजी फोहर जम्मा हुने देखिएको थियो। ती फोहोर आरोहणमा संलग्न व्यक्तिहरुले आधार शिविरमा ल्याए नल्याएको अनुगमन गनुपर्नेमा संघले जोड दिएको छ।

झुटो उद्धारलाई निरुत्साहित गर्न उद्धारमा प्रयोग भएका हेलिकप्टरको आवश्यक बिल तथा भरपाइ नेपाल सरकार तथा सरोकार भएका निकायले निरीक्षण गर्ने व्यवस्था मिलाउन पनि माग गरिएको छ। यस वर्ष संघका प्रथम उपाध्यक्ष दिवस घिमिरे र महासचिव शिवबहादुर सापकोटासहितको टोलीले सगरमाथा आधार शिविरमा आरोहणमा हुने विविध विषयबारे अध्ययन तथा अनुसन्धान गरेको थियो।