संसद‍्मा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई कांग्रेसको निर्देशन



काठमाडौं। नेपाली कांग्रेसले संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ। शुक्रबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले असार ९ गतेदेखि बस्ने संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन दिइएको प्रमुख सचेतक रमेश लेखकले बताए।

संसदको आगामी बैठकमा विनियोज विधेयक पारित गर्ने कार्यसूची रहेको छ। त्यसैले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित भएर देश र जनताको पक्षमा आवाज उठाउन निर्देशन दिइएको प्रमुख सचेतक लेखको भनाइ छ। 


‘संसद बैठकमा माननीयहरूको उपस्थिति एकदमै पातलिएको छ। आगामी बैठकदेखि विनियोजन विधेयक पारित गर्ने कार्यसूची पनि छ। त्यसैले कांग्रेसका सबै माननीयहरूलाई अनिवार्य उपस्थित भएर देश र जनताका पक्षमा आवाज उठाउन र प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्न निर्देशन भएको छ,’ लेखकले सञ्चारकर्मीसँग भने।

उनले बजेटका विषयमा भने बैठकअघि निर्णय गर्ने र त्यही निर्णय सबैले पालना गर्नुपर्ने निर्णय भएको बताए। उनले मन्त्रालयगत बजेटमा मन्त्रीहरूले मनपरी बजेट विनियोजन गरेको बताए। ‘मन्त्रालयगत बजेटमा मनपरी ढंगले अपरिपक्व बजेट विनियोजन भएको छ। त्यसमा सत्तापक्षकै सांसदहरूले पनि आवाज उठाइरहेका छन्। हाम्रो भनाइ छ पनि यो बजेट अपरिपक्व र पूर्वाग्रही रहेको भन्ने नै हो,’ उनले भने।

कांग्रेसले खर्च कटौतीको प्रस्ताव राखेको र त्यसकै पक्षमा उभिने उनको भनाइ छ।