संसदीय छानबिन समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्ने जिम्मा संसद् सचिवालयलाई



काठमाडौं । सहकारी ठगी प्रकरण छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिको पहिलो बैठकले आन्तरिक कार्यविधि मस्यौदा गर्न संसद सचिवालयलाई जिम्मा दिएको छ । आज (बुधबार) बसेको बैठकले समितिको काम अगाडि बढाउनका लागि आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवाललाई जिम्मा दिएको हो ।

समितिका संयोजक सूर्यबहादुर थापाक्षेत्रीले कार्यविधि मस्यौदा तयार भइसकेपछि त्यसलाई छलफलबाट टुङ्ग्याउन अर्को बैठक बस्ने गरी आज बैठक टुङ्गिएको बताए । उनका अनुसार संसद सचिवालयलाई दुई दिनको समयभित्र मस्यौदा तयार पार्न भनिएको छ ।


‘सहकारी संस्थाको बचत रकम दुरुयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको पहिलो बैठक आज भएको छ । सभामुख देवराज घिमिरेज्यूको उपस्थितिमा बैठक शुभारम्भ भएको छ । समितिका सातै जना माननीय सदस्यज्यूहरुसहित हामीले बैठकमा समितिको कामलाई अघि बढाउने सन्दर्भमा छलफल गरेका छौं । आज हामीले सामान्य केही निर्णयमात्रै गरेका छौं । कार्यविधि बनाउन पर्नेछ । समितिको आन्तरिक कार्यविधि मस्यौदा गर्न हामीले सचिवाललाई निर्देशन दिएका छौं,’– उनले भने ।

आफूहरुलाई दिइएको चार बुँदे कार्यादेश (टीओआर) का आधारमा आगामी छलफल अगाडि बढ्ने उनको भनाइ छ । उनले आजदेखि समितिको तीन महिने अवधि काउन्ट डाउन हुने बताए ।