संविधान संशोधन गरेर संघ र प्रदेशका सांसदहरूको संख्या घटाऔंः महामन्त्री थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघ र प्रदेशका सदस्यको संख्या घटाउनुपर्ने बताएका छन् ।

शनिबार पार्टीको नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रदेश खारेज गरौं भनेर सडक प्रदर्शन गर्नुको तुक नरहेको भन्दै संविधान नै संशोधन गरेर संघ र प्रदेशका सांसदहरूको संख्या घटाउनुपर्ने बताए । उनले कम खर्चमा संसद र सरकार चलाउन आवश्यक रहेको बताए ।


उनले भने, ‘प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ । प्रदेश अहिले अदालतले चलाएको छ । मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन् । सबै लगेर अदालतमा बुझाएका छन् । अब कसैलाई दोष दिएर हुँदैन । प्रदेशको सन्दर्भमा कतिपय कुरा संविधानमा मिलेनछन्, त्यसो भए के गरौं ? संशोधन गरौं । त्यो गर्न एमालेसँग सल्लाह गरौं ।’

उनले आफू किन प्रधानमन्त्री भएको भन्ने प्रचण्डलाई थाहा नभएको बताए । महामन्त्री थापाले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएकाले यसको पुष्टि भएको बताए ।