संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक कानूनहरु निर्माण भइरहेका छन्ः कानुनमन्त्री



काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक कानूनहरु निर्माण भइरहेको बताएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्ना मन्त्रालय अन्तर्गत विनियोजित बजेटका सन्दर्भमा आएका प्रश्नको जवाफ दिँदै मन्त्री गिरीले सरकार गम्भीरताका साथ संविधान कार्यान्वयनमा लागेको भन्दै त्यसका लागि आवश्यक कानूनहरु निर्माण भइरहको जानकारी दिए।


उनले संविधान जारी भइसकेपछि हालसम्म ३ सय ४ वटा विधेयकहरुको मस्यौदा र ३२२ वटा नियमावलीमा मन्त्रालयले सहमति दिइसकेको बताए। त्यस्तै अहिलेसम्म १९५ ऐन र ३२९ वटा नियमावलीका साथै ७८ वटा गठनआदेश भएको उनको भनाइ छ।

उनले कानुन व्यवसायी प्रतिष्ठान गठन गरिने र कानुनी क्षेत्रलाई पारदर्शी बनाइनका लागि कानून बनाउने तयारी भइरहेको बताए। मन्त्री गिरीले अदालतको काम कारबाहीलाई छिटो छरितो ढंगले अघि बढाउन सुधारका काम भएको र मुद्दाहरु छिटो फछर्यौट हुन थालेको दावी गरे।

उनले नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायालयको व्यवस्था गरेको भन्दै मिडिया ट्रायलले कुनै पनि मुद्दामा प्रभाव नपर्ने दावी गरे। उनले संक्रमणकालिन न्यायसँग सम्बन्धित कानुनलाई छिटो अघि बढाइ पारित गर्नुपर्ने धारणा राखे।