वैदेशिक रोजगारीका लागि एक महिनामा ७२ हजार नेपाली विदेशिए, सबैभन्दा बढी धनुषाबाट 



काठमाडौं । वैदेशिक रोजगारका लागि एक महिनाको अवधिमा ७२ हजार नेपाली विदेश गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार एक महिनाको अवधिमा अर्थात जेठ महिनामा मात्र ७२ हजार ८६१ जना नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । 

जसमा ६४ हजार ८८६ जना पुरुष रहेका छन् भने ७ हजार ९७५ जना महिला रहेका छन् । विदेश जाने जिल्लाको सुचीमा पहिलो नम्बरमा धनुषा जिल्ला रहेको छ । धनुषाबाट मात्र जेठ महिनामा ४ हजार २४८ जना विदेश गएको विभागले जनाएको छ । 


रोजगारीका लागि विदेश गएकामध्ये २४ हजार ८१२ जना एक पटक विदेश गएर आएका र फेरी विदेश गएका छन् सरकारको माध्यमबाट –जस्तै (कोरिया) ८७० जना रोजगारको लागि विदेश गएको विभागले जनाएको छ । 

जेठ महिनामा व्यक्तिगत भिजा लिएर ११ हजार १७२ जना विदेश गएको विभागले जनाएको छ । म्यानपावरको माध्यमबाट ३६ हजार ७ जना गएको विभागको भनाई छ । 

विदेश जानेमध्ये सबैभन्दा बढी युएई गएको विभागले जनाएको छ । जेठ महिनामा मात्र २० हजार ४२४ जना युएई गएको विभागले जनाएको छ ।