विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन



काठमाडौँ ।  निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिएका छन् । विपद्को समयमा पहिलो घेरामा रही काम गर्नुपर्ने प्रहरीले उपलब्ध स्रोत साधनको भरपुर प्रयोग गरी आफू सुरक्षित भई उद्धारमा खटिन उनले निर्देशन दिएका हुन् ।

प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आज समसामयिक विषयमा प्रहरी कर्मचारीलाई निर्देशन दिँदै निमित्त प्रहरी महानिरीक्षक थापाले राजस्व चुहावट रोक्न, तस्करी नियन्त्रण गर्न र राजस्व सङ्कलन वृद्धिका लागि परिणाममुखी काम गर्न आग्रह गरे ।


उनले लागुऔषधको बढ्दो ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरी कटिबद्ध भई लाग्नुपर्नेमा जोड दिँदै कारोबारमा सम्बद्ध जो कोहीलाई कानुनको दायरामा ल्याउन तथा सीमानाकामा कडाइका साथ निगरानी गर्न निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयबाट भएका नीति निर्देशनहरू कार्यान्वयन गर्नुपर्ने र प्रहरी सङ्गठनको कार्यसम्पादनस्तर बढाउन प्रहरीको आचरण व्यवहार परिवर्तन हुनुपर्नेमा उनले जोड दिए । अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्ने तथा प्रहरीको आन्तरिक शुद्धीकरण, स्थायित्व र सुशासनका सन्दर्भमा सकारात्मक ऊर्जाका साथ लाग्न उनले सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here