विपक्षीले संसदमा भारतीय जनताको आवाजलाई उल्लेखनीय रूपमा प्रतिनिधित्व गर्नेछः राहुल गान्धी



भारतका नयाँ विपक्षी दलका नेता राहुल गान्धीले एक दशकदेखि रिक्त रहेको पदको औपचारिक रूपमा कार्यभार सम्हालेपछि आफ्नो पहिलो सम्बोधनमा आफ्ना सांसदहरू चुप लागेर नबस्ने संसदमा अन्यायविरूद्ध आवाज बुलन्द गर्ने बताएका छन् ।

विपक्षी सांसदहरूले मोदी प्रशासनलाई चुनौती दिने आशासहित गान्धीलाई विपक्षी नेताका रूपमा चयन गरेका छन् । ‘सरकारसँग राजनीतिक शक्ति छ, तर विपक्षले पनि भारतीय जनताको आवाजको प्रतिनिधित्व गर्छ,’ गान्धीले संसदको तल्लो सदनमा सम्बोधन गर्दै भने ।


‘यस पटक, विपक्षीले भारतीय जनताको आवाजलाई उल्लेखनीय रूपमा प्रतिनिधित्व गर्नेछ,’ उनले भने । कुनै समयको शक्तिशाली भारतीय राष्ट्रिय काङ्ग्रेससँग संसदमा आवाज बुलन्द पार्न विधायिकामा पर्याप्त सिट थिएनन् । पहिलो दुई कार्यकालमा प्रधानमन्त्री मोदीको भारतीय जनता पार्टी (भाजपा) ले भारी मतान्तरले विजय हासिल  गरेपछि संसद्मा विपक्षीहरूको आवाज ‘शून्य’ बनेको थियो ।

भाजपाले यस वर्षको चुनावमा मात्र २४० सिट जितेको छ, जुन एक दशकयताकै सबैभन्दा कम सदस्यसङ्ख्या हो र बहुमतका लागि आवश्यक सदस्यभन्दा ३२ सीट कम हो । यसले गर्दा भाजपाले ५४३ सिटको तल्लो सदनमा २९३ सिटको बहुमत निर्माण गर्न गठबन्धनका सहयोगीहरूमाथि भर परेको छ । ७३ वर्षीय मोदीले सोमबार ‘सहमति’ का लागि विपक्षीलाई आग्रह गरेका थिए ।

–लोकतान्त्रिक बहसलाई फस्टाउने सुनिश्चितता गर्न सभामुखसँग गान्धीको आग्रह–

सन् २०१४ मा मोदीसत्तामा आएयता काङ्ग्रेस राजनीतिक उजाडस्थानबाट बचाउँदै सबैभन्दा राम्रो परिणाम दिलाउन सफल भएका छन् ।

‘हामी चाहन्छौं, सदन निरन्तर र राम्रोसँग चलोस्,’ गान्धीले भाजपाका तर्फबाट नयाँ कार्यकालका लागि सभामुख निर्वाचित ओम बिडलालाई सङ्केत गर्दै भने । उनले भने, ‘विश्वासका आधारमा सहकार्य हुनु र यो सदनमा प्रतिपक्षको आवाजलाई प्रतिनिधित्व गर्न दिनु अति आवश्यक छ ।’

प्रधानमन्त्री मोदीको दल भाजपाले सबै महत्वपूर्ण क्याबिनेट पदहरूमा नियन्त्रण कायम राखेको छ । विश्लेषक भन्छन्, ‘प्रधानमन्त्री मोदीले संसदमार्फत थप कानूनहरू बनाउन आफ्नो गठबन्धनभित्र सहमति खोज्न बाध्य हुनुहुनेछ ।’

गान्धीले बिडलालाई सङ्केत गर्दै भने, ‘सभामुखको भूमिका कानून पारित गर्न सजिलो बनाउने मात्र होइन, लोकतान्त्रिक बहसलाई फस्टाउने सुनिश्चित गर्नु पनि हो ।’ ‘सदन कति कुशलतापूर्वक चलाइएको छ भन्ने प्रमुख प्रश्न नभई यो सदनमा भारतको आवाज कति सुन्न दिइएको छ भन्ने हो,’ गान्धीले भने ।

उनले भने, ‘प्रतिपक्षको आवाजलाई दबाएर सदनलाई कुशलतापूर्वक सञ्चालन गर्न सकिन्छ भन्ने विचार अलोकतान्त्रिक विचार हो ।’ यो निर्वाचनले के देखाएको छ भने भारतका जनताले विपक्षीले यो देशको संविधानको रक्षा गर्ने अपेक्षा गरेका छन् ।