लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट भएको बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने ‘नेपाल सरकार नेपाल-भारतको सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा दृढ र स्पष्ट छ,’।


आफूले भारत भ्रमणका क्रममा नेपाल-भारत सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग विषय राखेको र सकारात्मक प्रतिक्रिया पाउँदै आएको बताए ।

‘नेपालको अन्तराष्ट्रिय सीमाबारे सम्मानित सदन, माननीय सदस्यहरु, नेपाल सरकार र हामी सबै नै स्पष्ट र दृढ छौं । यस विषयमा हाम्रो अभुतपूर्व राष्ट्रय सहमति कायम भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । यसको उदाहरण २०७७ असार ४ गते संविधान संशोधनमार्फत नयाँ नक्सा समेटी नेपालको निसान छाप अद्यावधिक गरिनु रहेको उनले बताए ।