लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस



भद्रपुर (झापा) । झापाको हल्दीबारी गाउँपालिका–१ का मनिस गुरुङलाई आजभन्दा आठ वर्ष पहिले धुम्रपानको स्वाद कस्तो हुन्छ भन्नेसम्म थाहा थिएन । उनको घरमा धुम्रपान सेवन गर्ने कोही नभए पनि घरबाहिर विद्यालय छरछिमेकमा अरूले खाएको देख्थे ।

आफूभन्दा एक–दुई वर्षमाथिका साथीभाइहरुले चुरोट तानेको देख्दा उनलाई पनि चुरोटको स्वाद लिने मन लग्न थाल्यो । सुरुमा चुरोट खाने हिम्मत आइरहेको थिएन, जसोतसो हिम्मत जुटाएर बाँसको झारीमा गएर चुरोट तानेपछि उनको आत्मविश्वास बढ्यो । त्यसपछि साथीभाइसँग दैनिक रुपमा चुरोट सेवन गर्न थाले ।


कक्षा ८ मा पढदै गर्दा धुम्रपानमा बिस्तारै लत बस्दै गएको थियो यतिकैमा विद्यालयमा आफूभन्दा माथिल्लो कक्षामा पढ्ने दाइहरुसँग उनको सङ्गत भयो र उनीहरुको कुरा सुन्दा गाँजामा नै संसार छ जस्तो गुरुङलाई लाग्न थाल्यो । सानै उमेरदेखि गीतसङ्गीतमा रुचि भएका गुरुङलाई पश्चिमा गीतसङ्गीतमा गाँजालाई प्रोत्साहन गरेको देखेपछि त्यहीँबाट प्रभावित भएर गाँजा सेवन गर्ने मनसाय बनाए ।

सुरुमा गाँजा सेवन गर्दा त्यसको नशाले टाउको दुख्ने, बान्ता आउने, डर लाग्ने, मनमा नकारात्मक ख्यालहरु आउने भएको थियो । पहिलो चोटी गाँजा सेवन गरेपछि अबदेखि कहिल्यै खाँदिन भन्ने उनको मनमा लागेको थियो तर उनी एकदमै नराम्रो सङ्गतमा फसिसकेका थिए । साथीभाइहरुले पहिलो चोटि खाँदा यस्तै हुन्छ बिस्तारै ठीक हुँदै जान्छ भनेर फकाएपछि यसको पेसेवर सेवनकर्ता हुनुपुगे ।

गाँजाको निरन्तर प्रयोग गर्न थालेको केही समयपछि यसको बिस्तारै कम असर पर्न थाल्यो । त्यसपछि गुरुङ बिस्तारै डाक्टरको सिफारिसमा मात्रै प्रयोग गर्न मिल्ने नार्कोटिक ट्याबलेटहरु गाँजामा मिलाएर खान थाले । विभिन्न औषधि पसलहरुमा खुला रुपमा बिक्री हुने भएकाले त्यस्ता औषधिहरुको गलत तरिकाले प्रयोग गर्नपुगे ।

गाँजा र औषधी (ट्याब्लेट) सँगै सेवन गर्न थालेपछि बिस्तारै शरीर दुख्ने, निद्रा नलाग्ने, बोल्न मन नलाग्ने, जतिबेला पनि रिस उठने अवस्था आयो । पढाइमा अब्बल नै थिए, कक्षामा सधैँ पहिलो वा दोस्रो हुने विद्यार्थी उनी कक्षा ९ मा पुगेपछि अनुत्तीर्ण हुने अवस्था आयो ।

गाँजा र ट्याब्लेट खाने खर्चको जोह गर्न घरपरिवारमा ठग्ने, चोरी गर्ने, गरगहना बेच्ने, कुनै कामका लागि दिएको रकम गाँजामै खर्च गर्न थाले । घरमा पनि आमाबुबाले विश्वास गर्ने गरेकाले उहाँहरुलाई छलेर यस्तो काम गर्न बाध्य थिए गुरुङ ।

गाँजा र ट्याब्लेट निरन्तर प्रयोग गर्न थालेको केही समयपछि एकजना खैरो हिरोइन प्रयोगकर्तासँग उनको सम्बन्ध हुनुपुग्यो । उनलाई केही समय लगातार सित्तैमा खुवाएपछि खैरो हिरोइनको पनि लत बस्यो । निम्न मध्यम वर्गको परिवारको भएकाले गुरुङलाई लागुपदार्थ किन्न रकम जोह गर्न समस्या पर्न थाल्यो ।

घरमा पनि बिस्तारै उनको कुलतका बारेमा थाहा भयो । त्यसपछि लागुऔषध दुव्यर्सनीको रोकथाममा काम गरिरहेको पुनःजीवन पुनःस्थापना केन्द्रमा आफैँ आए र तीन महिनाको उपचारपछि बिस्तारै अहिले उनी लागुपदार्थ सेवनबाट छुट्कारा दिलाउन सफल हुँदैछन् । अहिले उनी चुरोट पनि सेवन गर्दैनन् । स्नातक दोस्रो वर्षमा अध्ययन गरिरहेका गुरुङलाई पढाइ सकेपछि लागुऔषध नियन्त्रण र रोकथामकै क्षेत्रमा काम गर्ने इच्छा जागेको छ ।

झापा जिल्लाको विभिन्न क्षेत्रमा बसोबास गर्ने युवाहरु लागुपदार्थको सेवनमा कसरी फसिरहेका छन् र उनीजस्तै विभिन्न पुनःस्थापना केन्द्रमा उपचार गराउन आउने युवाहरुको यस्तै कथाव्यथा छन् । लागुऔषध नियन्त्रण ब्यूरोका अधिकारीहरुका अनुसार झापा जिल्ला लागुपदार्थको दुव्र्यसनी तथा कारोबारीहरुको मुख्य गन्तव्य स्थल बन्दै गएको छ ।

झापामा लागुऔषधका दुव्र्यसनीहरुको सङ्ख्या छ हजार पाँच सयभन्दा माथि छ, जुन काठमाडौँपछि दोस्रो बढी भएको लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाका प्रहरी नायब निरीक्षक सोमेस लामिछाने बताउँछन् । उनका अनुसार झापा जिल्ला भारतसँग १४४.२ किलोमिटर खुला सीमाना भएका कारण पनि लागुऔषधको कारोबारको ग्राफ बर्सेनि बढ्दो क्रममा छ ।

पक्राउ पर्नेको सङ्ख्यामा वृद्धि

खुला सीमाको फाइदा उठाउँदै झापाका विभिन्न ठाउँबाट नेपाल भित्र्याइँदै गरेका लागुपदार्थसहित मान्छे पक्राउ पर्ने क्रम दिनहुँ जस्तो छ । जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणमा लागुपदार्थ सेवनकर्ता तथा कारोबारी प्रायः दिनहुँ पक्राउ पर्ने गरेका छन् ।

प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा चार सय नौजना लागुपदार्थको सेवन तथा कारोबार गर्दै गर्दाको अवस्थामा पक्राउ परेका छन् । उनीहरुको साथबाट २.०८५ किलोग्राम खैरो हिरोइन र २८.६ किलोग्राम गाँजा बरामद गरिएको प्रनाउ चन्दले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गत आवमा तीन सय ३६ जना लागुपदार्थको सेवनकर्ता तथा कारोबारी पक्राउ परेका थिए । जुन सङ्ख्या चालु आवको ११ महिनासम्म पुग्दा २१।७२ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, उनीहरुसँग पक्राउ परेको गाँजा तथा खैरो हिरोइनको परिणाम पनि गत आवको भन्दा दोब्बर भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका रहेको प्रहरीले जनाएको छ । लागुऔषध सेवन तथा ओसारपसार गर्ने मानिसहरुबारे नियाल्ने हो भने झापा बाहेकका जिल्लाका व्यक्तिहरु समेत सक्रिय रहेको प्रनाउ चन्दले बताए । झापा जिल्ला लागुऔषध कारोबारका लागि ट्रान्जिट बन्दै गएको अवस्था रहेको उनको भनाइ छ ।

लागुऔषधको अधिकांश प्रयोगकर्ता अभिभावक (बाबुआमा) विहीन र अभिभावक छुट्टिएर बसेका बालबालिका रहेको लागुऔषधको क्षेत्रमा अध्ययन–अनुसन्धान गरिरहेका उपप्रध्यापक सावित्रा दाहाल बताउँछन् । उनका अनुसार त्यस्ता बालबालिकाले उचित अभिभावकत्व नपाउँदा गलत सङ्गतमा फस्दै गएका छन् । दाहालका अनुसार विद्यालयमा पढ्ने उमेर समूहका बालबालिका साथीसङ्गतको लैलै र विभिन्न प्रलोभनमा परी धुम्रपानको लतमा फस्ने गरेको र बिस्तारै उक्त लत नै लागुपदार्थ सेवनसम्म पुग्ने गरेको छ ।

सीमा क्षेत्रका विद्यालयहरु लागुऔषधको प्रमुख जोखिममा रहेको लागुऔषध नियन्त्रणको क्षेत्रमा काम गर्दै आएका राजु गिरी बताउँछन् । उनका अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न पाउने छैन भनी सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ मा व्यवस्था गरिएको छ ।

नेपालको सीमासित जोडिएका भारतीय बजारहरुमा लागुपदार्थ सहजै उपलब्ध हुँदा नेपालतिर यसको कारोबार बढेको लागुपदार्थ प्रयोगकर्ता नै बताउने गरेका छन् । पुनर्जन्म पुनःस्थापना केन्द्रमा उपचार गराइरहेका लागुऔषध प्रयोगकर्ता मनिष गुरुङका अनुसार भारतीय सीमावर्ती बजारका पान पसल, चिया पसल जहाँ पनि लागुपदार्थ सहजै रुपमा पाइने गरेको छ ।

गुरुङका अनुसार भारतीय बजारमा एक ग्राम खेरौ हिरोइनको नेपाली मूल्य दुई हजार पाँच सयदेखि तीन हजार पर्दछ । उक्त एक ग्राम खैरो हिरोइन नेपाल भारत सीमा कटाई झापा जिल्लासम्म पु¥याउँदा छ हजारदेखि सात हजार नेपाली रुपैयाँ पर्न जान्छ । यसैगरी, एक ग्राम खैरो हिरोइन काठमाडौँलगायत सहरमा पु¥याउन सके १३ देखि १४ हजार किनबेच हुने गरेको गुरुङ बताउँछन् । खैरो हिरोइन सम्बन्धमा भारतमा फितलो कानुन रहेकाले सहज रुपमा नै सीमावर्ती भारतीय बजारहरुमा लागुऔषध उपलब्ध हुँदा नेपालतर्फ कारोबार बढेको लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाका प्रनानि लामिछाने बताउँछन् ।

पुनःस्थापना केन्द्र थपिँदै

एक दशकअगाडि न्यून सङ्ख्यामा पुनःस्थापना केन्द्र रहेको झापामा पछिल्लो समय लागुऔषध दुव्र्यसनीहरुको सङ्ख्यामा वृद्धि भएसँगै पुनःस्थापना केन्द्रहरुको सङ्ख्या बढेको पुनर्जन्म समूह नेपालका सञ्चालक राजु गरीले जानकारी दिए ।

उनका अनुसार हाल झापा जिल्लाभर २६ पुरुष र तीनजना महिला लागुपदार्थका दुव्र्यसनीका लागि खोलिएका पुनःस्थापना केन्द्रहरु रहेका छन् । ती केन्द्रहरुमा लागुऔषध दुव्र्यसनीहरुको तीन महिनाको प्याकेजमा उपचार हुने गरेको छभने नौ सय ५० देखि एक हजार लागुपदार्थ दुव्र्यसनीले विभिन्न किसिमका परामर्शका साथै थेरापी लिने गरेको उनले जानकारी दिए ।

हाल झापाका १५ वटा स्थनीय तहमा पुनःस्थापना केन्द्रहरु खोलिएका छन् । पुनःस्थापना केन्द्रमा उपचार गराउने दुव्र्यसनीहरुमध्ये १५ देखि २० प्रतिशतमा पूर्ण रुपमा सुधार भएको लागुपदार्थ दुव्र्यसनको क्षेत्रमा काम गर्ने संस्थामा काम गर्ने सरोज श्रेष्ठ बताउँछन् । उनका अनुसार हाल जिल्लामा लागुऔषधको दुव्र्यसनबाट पुनःस्थापितको सङ्ख्या एक हजार आठ सयदेखि दुई हजारसम्म रहेको छ ।

अबको बाटो

जसरी लागुपदार्थको प्रयोग र कारोबार बढ्दै गएको छ त्यसअनुसार नियन्त्रणका लागि जनशक्ति अभाव रहेको लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी नायब निरीक्षक लामिछानेले बताए । “हामीसँग पर्याप्त दक्ष जनशक्ति र लागुऔषधको मुद्दा चलाउने छुट्टै युनिट छैन । सातजनाको समूहले साबिक मेची अञ्चलका चारवटा जिल्ला हेर्नु परेको छ,” उनले भने । लागुऔषध नियन्त्रण तथा रोकथाम गर्न दुव्र्यसनीको पहिचान गरी उनीहरुका लागि सचेतनामूलक कार्यक्रम गर्नाका साथै पुनःस्थापना केन्द्रमा राखी उपचार गराउनेजस्ता क्रियाकलाप गर्नुपर्ने स्थानीय समाजसेवी निर्मल पोखरेल बताउँछन् ।

सीमावर्ती भारतीय बजारमा खुलेआम लागुपदार्थको कारोबार हुने गरेकाले त्यहाँको प्रशासनसँग आवश्यक समन्वय गरेर त्यसको आयातमा नियन्त्रण गर्नुपर्ने उनको सुझाव छ । झापाका स्थानीय तहहरुले लागुऔषध नियन्त्रणका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्था तथा विज्ञहरुसँग समन्वय गरी योजना बनाई यथाशीघ्र लाग्नुपर्ने सरोकारवालाहरुको धारणा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here