लगानी बोर्ड तत्काल खारेज गरौं, विदेशी पुँजी ल्याएर देश विकास हुँदैन: सांसद सुवाल



काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विभिन्न मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै सांसद सुवालले लगानी बोर्ड कार्यकर्ता भर्तीको केन्द्र बनेको भन्दै खारेज गर्न माग गरेका हुन् ।

“विदेशी पुँजी ल्याएर देश विकास हुँदैन । बरु उपनिवेश हुन्छ । भारतमा व्यापार गर्न आएको इष्ट इन्डिया कम्पनीले भारतलाई २१० वर्ष उपनिवेश बनाएको थियो । त्यसकारण विदेश लगानी ल्याउने लगानी बोर्डलाई तत्काल खारेज गर्नुपर्छ,” उनले भने, “सरकारले जग्गा र भौतिक पूर्वाधार निर्माण गरी औद्योगिक क्षेत्र स्थापना गर्ने र विदेशी लगानी त्यहाँ लगाउने भनेको गाईमारी बाघ पोस्ने हाम्रो जग्गा, हाम्रो श्रम, अनि विदेशी पुँजीको रजाईं । यो ठिक छैन । काठमाडौं उत्यकामा रहेका औद्यौगिक क्षेत्रलाई यहाँबाट हटाउनु पर्छ । यहाँको प्रदूषण कम गर्न पनि यो आवश्यक छ ।”


काठमाडौं उपत्यकाभित्र रहेका सबै औद्योगिक क्षेत्र हटाउन पनि सरकारलाई दबाब दिए । काठमाडौं उपत्यकाको वातावरण बिग्रन नदिन पनि ती औद्योगिक क्षेत्रहरू यहाँबाट हटाउनुपर्ने उनको भनाइ थियो ।