राष्ट्रिय महाधिवेशनले सङ्घीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव



धनुषा । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जनकपुरधाममा सम्पन्न एकताको राष्ट्रिय महाधिवेशनले सङ्घीयता विरोधीलाई जवाफ दिएको बताएका छन् ।

महाधिवेशनबाट निर्विरोध निर्वाचित अध्यक्ष यादवको सम्मानमा जसपा धनुषाले आयोजन गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले महाधिवेशनको उद्घाटन सत्रमा उपस्थित भीडले आफूलाई उत्साही बनाएको बताए ।


सङ्घीयता पक्षधर मधेसी, आदिवासी, जनजाति, महिला, मुस्लिमलगायतका शक्ति एकजुट रहेको सन्देश जनकपुर महाधिवेशनले दिएको उल्लेख गर्दै अध्यक्ष यादवले मौसमको प्रतिकूलताका बीच पनि समर्थकको अपार उपस्थितिले जनतासँग जसपा र जसपासँग जनता रहेको पुष्टि भइसकेको दाबीसमेत गरे ।

हिमाल पहाड र मधेसको एक्यबद्धताले जनता समाजवादी पार्टीको बेगलाई अब कसैले रोक्न नसक्ने पुष्टि भइसकेको उनको भनाइ थियो ।

जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश अध्यक्ष बालकिशोर यादव, नेता हरिनारायण यादव, डा सुरेन्द्र यादव, लालकिशोर साह, स्थानीय आयोजन समितिका संयोजकहरुको उपस्थिति रहेको थियो ।