राष्ट्रिय महाअधिवेशनले वैज्ञानिक समाजवाद पारित गर्छ : झलनाथ खनाल



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको आसन्न राष्ट्रिय महाअधिवेशनले वैज्ञानिक समाजवादको कार्यक्रमलाई पारित गराउने बताएका छन् ।

महाधिवेशन प्रतिनिधि छनौट गर्न देश र प्रवासमा निर्वाचन सम्पन्न भएपछि नेता खनालले बिहीबार एक सन्देश जारी गर्दै पार्टीलाई वैचारिक र सङ्गठनात्मक दुवै हिसाबले सक्षम र गतिशील नेतृत्व निर्माण गर्न महाअधिवेशन ऐतिहासिक हुने उल्लेख गरे । उक्त महाधिवेशनले समाजवादी क्रान्ति र रूपान्तरणको ऐतिहासिक कार्यक्रमलगायत दस्ताबेज पारित गर्ने बताउँदै नेता खनालले देश र जनतालाई यथास्थितिवादबाट मुक्त गराउन कम्युनिस्ट आन्दोलनको भूमिका महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।


नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन निर्वाचित सबै प्रतिनिधिको ठुलो जिम्मेवारी हुने उनको भनाइ छ । उनले भने, “पार्टीका कार्यदिशा, नीति र सिद्धान्तलाई क्रान्तिकारी जगमा उठाउन, समाजवादी क्रान्तिलाई मार्गदर्शन गर्नेछ । त्यसैका आधारमा हाम्रो पार्टीको कार्यदिशा, नीति र सिद्धान्तहरू परिष्कृत र परिमार्जित हुँदै जानेछन् ।” करिब एक हजार चार सय प्रतिनिधि छनौटका लागि निर्वाचन सम्पन्न गरिएको छ । यही असार १६ गते काठमाडौँमा पार्टीको महाधिवेशन हुँदैछ ।