राजस्वका लक्ष्य प्राप्त गर्न थप स्रोतको खोजी आवश्यक छ : धनराज गुरुङ



काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले आगामी वर्षको बजेटका लक्ष्यअनुसार राजस्व सङ्कलन हुनेमा आशङ्का व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले राजस्व बढाउन करका दायरा र गैरकानुनी कारोबार बन्द गर्नुपर्ने धारणा राखे ।


सांसद गुरुङले बजेटमा समेटिएको गाँजाखेतीको विषयलाई कानुन बनाएर कार्यान्वयनमा लैजानुपर्ने भन्दै आफू कानुनमन्त्री हुँदा यसबारेमा कोसिस गरेको समेत स्मरण गरे । “औषधिका रूपमा गाँजाखेती गर्न सकियो भने दुई खर्ब र घरेलु मदिरालाई ब्रान्डिङ गरे थप दुई खर्ब राजस्व सङ्कलन गर्न सकिन्छ । त्यस्तै नेपालमा रहेका सात सय ३६ जातका जडीबुटीको व्यावसायिक खेती गरेर थप दुई खर्ब आम्दानी गर्न प्रशस्त सम्भावना छ । यसतर्र्फ पनि सोच्न जरूरी छ”, गुरुङ्ले भने । उनले देश बनाउन सबै मिलेर अगाडि बढ्नुपर्ने, सत्तामा बस्दा र नबस्दा पनि देश बनाउने सङ्कल्पका साथ काम गर्नुपर्ने उनको भनाइ छ ।

हिन्दू धर्मावलम्बीका लागि नेपाल तपोभूमि र बौद्धधर्मावलम्बीका लागि लुम्बिनी प्रसिद्धस्थल रहेको बताउँदै उनले धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न लाग्नुपर्नेमा जोड दिए ।

सांसद गुरुङले बजेटमा ‘बर्थिङ हब’ भनेर आएको र अब ‘हनिमुन सिटी’ पनि बनाउनुपर्ने धारणा व्यक्त गरे । “घाटा बजेटलाई काम गर्न नयाँ उत्पादनका स्रोत खोज्नुपर्ने छ । यसैगरी बजेट कार्यान्वयन जाँदा सक्षम हुन्छ कि हुँदैन, बजेटका कतिपय बुँदामा रकम नै उल्लेख भएको देखिँदैन, यसर्थ यथार्थवादी भएर मूल्याङ्कन गर्नुपर्छ”, उनको भनाइ थियो ।