रवि जोडिएको सूर्यदर्शनसहित ९ सहकारीको कागजात माग्ने छानबिन समितिको निर्णय



काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणको छानबिन गर्न गठिन संसदीय छानबिन समितिले ९ वटा सहकारीको कागजात माग्ने निर्णय गरेको छ ।

बुधबार सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीसहितका अनुसूची २ मा उल्लेखित ९ सहकारीको सबै कागजात मगाएर अनुसन्धान गर्ने निर्णय गरेको हो ।


समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात माग गर्ने निर्णय गरेको हो।

रवि लामिछाने पनि सहकारी प्रकरणमा जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा आवाज उठाएपछि संसदीय छानबिन समिति गठन भएको थियो।

समितिमा एमालेबाट सभापति थापासहित सरिता भुसाल, कांग्रेसका बद्री पाण्डे र ईश्वरीदेवी न्यौपाने, माओवादीका राजन दाहाल (लेखनाथ) रास्वपाका शिशिर खनाल र राप्रपाका धू्रवबहादुर प्रधान छन् । समितिलाई आफ्नो प्रतिवेदन तयार गर्न ३ महिनाको समय दिईएको छ ।