यू–१९ सुदूरपश्चिम छनोटः  कञ्चनपुरको लगातार दोस्रो जित



बैतडी । यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटमा समूह ‘बी’ को चौथो खेलमा कञ्चनपुर  विजयी भएको छ । 

कञ्चनपुरले  लगातार दोस्रो जित दर्ता गर्ने क्रममा अछामलाई ९१ रनले हरायो । यसअघि पहिलो खेलमा कञ्चनपुरले बझाङलाई ४ विकेटले पराजित गरेको थियो । जितका लागि पाएको १२६ रनको लक्ष्य पछ्याएको अछाम ९.१ ओभरमा ३४ रनमा समेटियो । उसका युवराज खत्रीले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 


अछामको पारी ध्वस्त पार्ने क्रममा कञ्चनपुरका कप्तान हेमन्त धामीले ५ विकेट हात पारे । म्यान अफ द म्याच समेच चुनिएका हेमन्तले ४ ओभरमा १ मेडल राख्दै १३ रन मात्रै खर्चेर ५ विकेट हात पारेका हुन् । यस्तै अभिषेश थापाले ३ विकेट  लिए । 

यसअघि परशुराम रङ्ग मैदानमा पहिला ब्याटिङ गरेको कञ्चनपुर ३५.१ ओभरमा १२५ रनमा समेटियो । जसमा राहुल चन्दले सर्वाधिक २२ रन हिर्काए । अछामका युवराज खत्री,खगेन्द्र कुँवर र रविन भण्डारीले २÷२ विकेट हात पारे । यो जितसँगै कञ्चनपुर ४ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको छ ।  अछाम भने दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत भोलि कैलाली र बझाङ भिड्न छन् । 

समूह ‘बी’ बाट शीर्ष स्थानमा पुग्ने टोली फाइनलमा बैतडीसँग भिड्ने छ । समूह ‘ए’ बाट बैतडी लिग चरणका सबै खेल जितेर फाइनलमा पुगिसकेको छ ।