मोदीको शपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान



काठमाडौं । भारतमा हालै भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले बहुमत ल्याएपछि नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आज प्रधानमन्त्रीको शपथ लिँदैछन् ।

दिउँसो मोदीले राष्ट्रपति द्रौपदी मूर्मबाट शपथ लिनेछन् । मोदीको शपथ समारोहमा सहभागी हुन विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुलाई आमन्त्रण गरिएको छ । बंगलादेशकी प्रधानमन्त्रीदेखि मालदिभ्सका राष्ट्रपति हिजै नयाँ दिल्ली पुगिसकेका छन् भने नेपालबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भर्खरै दिल्ली प्रस्थान गरेका छन् ।


प्रधानमन्त्री प्रचण्डको भ्रमणदलमा स्वकिय सचिवसमेत रहेकी छोरी गंगा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र परराष्ट्र सचिव सेवा लम्साल छन्् । प्रचण्ड भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिन लागेको मोदीको शपथ समारोहमा जाने प्रचण्ड नेपालका तेस्रो प्रधानमन्त्री बनेका छन् । यसअघ नेपालबाट तत्कालीन प्रधानमन्त्रीद्धय सुशील कोइराला र केपी शर्मा ओली नयाँ दिल्ली पुगेका थिए । कोइराला ०१४ र ओली ०१९ मा मोदीको शपथमा पुगेका थिए ।