मेरो अभिव्यक्तिसँग शिक्षामन्त्रीको नाम, वतन मिलेजस्तो लाग्दैनः केपी ओली



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बारेमा केही पनि टिप्पणी नगरेको बताएका छन् । आज (शुक्रबार) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुको प्रश्नमा ओलीले आफ्नो अभिव्यक्ति कसैसँग पनि सम्बन्धित नरहेको बताएका हुन् ।

एमाले अध्यक्ष ओलीले मन्त्री सुमनामाथि गरेको टिप्पणी सामाजिक सञ्जालमा भाइरल भएको थियो । अध्यक्ष ओलीले सुमनाले विदेशीसँग विवाह गरेको र नेपाल घुम्न आएको बेला मन्त्री भएको टिप्पणी गरेका थिए । ‘विदेशीसँग बिहे गरेको सुन्छु, नेपाल घुम्न आएकी मन्त्री पो भईन्,’– ओलीले भनेका थिए ।


सो विषयलाई लिएर मन्त्री सुमनाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी थिईन् । सुमनाले आफूमाथिको अभिव्यक्ति विदेश गएर अध्ययन गरिरहेका सबैका विरुद्ध रहेको उल्लेख गरेकी थिईन् ।

उक्त विषयलाई लिएर सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा ओलीले भने, ‘शिक्षामन्त्रीसँग मैले के भनेको छु ? त्यो कसैसँग सम्बन्धित छैन । संयोगले कसैसँग कुनै नाम मिलेजस्तो पनि लाग्दैन मलाई, वतन, ठेगाना मिलेजस्तो पनि लाग्दैन । त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ ।