मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाम निर्वाचित



मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाम निर्वाचित भएकी छन् । मेक्सिको सिटी निवासी ६१ वर्षीय पूर्व मेयर तथा प्रशिक्षणद्वारा वैज्ञानिक बनेकप् उनले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको ‘नेसनल इलेक्टोरल इन्स्टिच्युट’ले जनाएको छ ।

विशेष गरी दुई दर्जनभन्दा बढी आकांक्षी स्थानीय राजनीतिज्ञहरूको हत्या भएको रक्तपातपूर्ण चुनावी प्रक्रियापछि भएको निर्वाचनमा मेक्सिकाले महिला नेतृत्व पाएको छ । मतदाताहरूको सुरक्षाका लागि हजारौं सैनिकहरू तैनाथ गरिएको थियो ।


शेबनामले प्राप्त गरेको मत प्रतिशत उनको मुख्य प्रतिद्वन्द्वी जोचिटल गाल्भेजभन्दा ३० प्रतिशत अंकभन्दा बढी हो भने लामो समयदेखि मध्यमार्गी जोर्ज अल्भारेज मेनेजभन्दा ५० प्रतिशत अङ्क बढी हो ।

निर्वाचनमा अति हिंसात्मक लागूऔषध गिरोहले आतङ्कित पारेका क्षेत्रहरूमा छिटपुट हिंसाका बावजुद ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोभरिका मतदान केन्द्रहरूमा मतदाताहरूको भीड लागेको थियो ।

उनले आफू निर्वाचित हुन पहिले नै मतदान भएको दिनलाई ‘ऐतिहासिक दिन’ का रूपमा घोषणा गरेकी थिइन् ।

मतदानपछि शेबनामले आफूलाई आफैंले दिएको मत आफ्नो जीतका लागि नभई ९३ वर्षीया अग्रज वामपन्थी नेता इफिजेनिया मार्टिनेजको सम्मानका लागि भएको बताएकी थिइन् ।

“लोकतन्त्र दीर्घकालसम्म रहिरहनेछ,” शेनबामले आफू निर्बाचित बनेपछि शुभचिन्तक तथा सहयोगी कार्यकर्ताको भीडलाई सम्बोधन गर्दै घोषणा गरिन् ।

निर्वाचन सकिएपछि गाल्भेजले आफ्ना अनुयायीहरूलाई मतगणनालाई नजिकबाट नियाल्न आग्रह गरेका थिए ।

“हामी अधिनायकवाद र सत्ताविरुद्ध प्रतिस्पर्धा गरिरहेका छौं र उनीहरु जे पनि गर्न सक्षम छन्,” सिनेटर तथा आदिवासी मूलकी व्यवसायीसमेत रहेकी ६१ वर्षीया गाल्भेजले भने ।

हरेक दिन करिब १० जना महिला वा बालिकाको हत्या हुने मेक्सिकोको सबैभन्दा अग्लो राजनीतिक सिसाको छाना एक महिलाले तोडेको भन्दै विजयी र्यालीमा सहभागी महिलाले खुशी व्यक्त गरेका छन् ।