जनकपुर । उत्पादकत्व बढाउने उद्देश्यले धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिकाले किसानलाई निःशुल्क रूपमा उन्नत जातको धानको बिउ वितरण गरेको छ ।
पालिकाले कृषिमा संलग्न किसानको उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले सतप्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको हो ।
मुखियापट्टि मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले धान उत्पादनमा वृद्धि ल्याउन, किसानलाई उत्साहित तथा आत्मनिरर्भर बनाउन निःशुल्क धानको बिउ वितरण गरिएको बताए ।
किसानका मागका आधारमा जग्गाधनी पुर्जा हेरेर पर्याप्त मात्रामा बिउ उपलब्ध गराइएको उनले जानकारी दिए ।
अध्यक्ष यादवले भने, ‘यो पालिका क्षेत्रभित्र जति क्षेत्रफलमा धान उत्पादन हुन्छ सोअनुसार धानको बिउ ल्याएका छौं, बढी हुनसक्छ कम हुँदैन ।’
उनका अनुसार बहुगुणी–२, रामधान, हर्दिनाथ–६, लल्का बासमती, राधा–४ लगायत जातका १३ क्विन्टलभन्दा बढी बिउ वितरण गरिएको छ ।
अध्यक्ष यादवले धानको बिउ खरिद गर्न रु १० लाख बजेट विनियोजन गरिएको बताउँदै अहिलेसम्म रु सात लाख ९० हजारको बिउ खरिद गरिएको जानकारी दिए ।
उनले धानको बिउसँगै किसानलाई आवश्यक परामर्श, कृषि औजार तथा उपकरण वितरण गरिँदै आइएको बताए ।