‘मिस ग्राण्ड नेपाल–२०२४’को आवेदन खुला



काठमाडौं । ‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक उमङ्ग क्रिएसन प्रालिका प्रवन्ध निर्देशक उद्धव अधिकारीले आजैदेखि आवेदन खुला गरिएको र इच्छुकले यही असार ३१ गतेसम्म आवेदन दिनसक्ने जानकारी दिए ।


उनका अनुसार प्रतियोगितामा १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिनसक्ने छन् भने आवेदकहरुको उचाइ कम्तीमा पाँच फिट तीन इञ्च हुनुपर्नेछ ।

कम्पनीका अनुसार प्रतियोगिताको विजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस ग्राण्ड इन्टरनेसनल-२०२४’मा सहभागी हुन पाउनेछन् ।

“यस वर्ष ‘ब्रेभ, बोल्ड, ब्यूटिफूल’ को नारासहित मिस ग्राण्ड नेपाल-२०२४ घोषणा गरिएको छ”, उनले भने, “प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौ ११ गते गरिनेछ ।” त्यसअघि आगामी साउन २३ गते मिस ग्राण्ड नेपाल-२०२४ को क्राउन सार्वजनिक गरिने उनको भनाइ छ ।

कम्पनीले सन् २०२० देखि प्रत्येक वर्ष सौन्दर्य प्रतियोगता आयोजना गर्दै आएको छ । उमङ्ग क्रिएशनले सन् २०२३ मा ‘मिस ग्राण्ड इन्टरनेशनल’को फ्रेन्चाइज लिएको थियो । प्रतियोगिताको कोरियोग्राफरमा प्रशान्त ताम्राकार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here