काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा सकेसम्म सहमतिमै नेतृत्व चयन हुने बताएका छन् । आज (आइतबार) आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले सहमतीमै नेतृत्व चयन गर्ने प्रयास अन्तिमसम्म जारी रहने बताएका हुन् ।
‘हामी सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्छौं । सहमतिपूर्ण नेतृत्व निर्माण गर्नका लागि हामी एकआपसमा छलफल गर्दैछौं, अझै गर्छौं, अन्तिमसम्म गर्छौं,’– उनले भने ।
साथै, एकीकृत समाजवादीको १०औं महाधिवेशन एकता, रुपान्तकारी र पुनर्गठनको महाधिवेशन हुने उनको दाबी छ । उनले पार्टीको उक्त महाधिवेशनबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा निर्धारण गर्ने संकल्प गरिएको पनि बताए ।
एकीकृत समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा सम्पन्न हुने बताइएको छ । अधिवेशनमा राजनीतिक प्रतिवेदन, नेपाली विशेषताको समाजवादको कार्यदस्तावेज, संगठानात्मक प्रस्ताव र विधान पेश गरिने छ । सबै दस्तावेजहरुमा गहन छलफल गरी सर्वसम्मतीबाट अगाडि सारिएको बताइएको छ ।