मध्य र पश्चिम तराईमा अझै ३ दिनसम्म गर्मी हुने, सर्तक रहन अनुरोध



काठमाडौं । नेपालको मध्य र पश्चिम तराईमका अझै पनि तीन दिनसम्म गर्मी बढ्ने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज एक सूचना जारी गर्दै ३१ गतेसम्म अत्याधिक गर्मी हुने र तातो हावा चल्न जनाएको छ । पूर्वी कोशी क्षेत्रबाट मनसुन भित्रिए पनि पश्चिममा भने गर्मी कायमै रहने भएको छ।


महाशाखाले विशेष बुलेटिन जारी गरेर आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न निम्न उपायहरू अपनाउन अनुरोध गरेको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नहिँड्ने ), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक(पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत अनुरोध गरेको छ ।