मदन भण्डारी मेमोरियल कलेजलाई विश्वविद्यालय बनाउन सकारात्मक सहयोग रहन्छः सभामुख घिमिरे



काठमाडाैं। सभामुख देवराज घिमिरेले मदन भण्डारी कलेजलाई विश्वविद्यालय बनाउन आफ्नो तर्फबाट सकारात्मक सहयोग रहने बताए।

बानेश्वरस्थित मदनभण्डारी मेमोरियल कलेजको २३औँ वार्षिकोत्सवको उद्घाटन गर्दै सभामुख घिमिरेले पछिल्लो समय शिक्षा सरल, सुलभ र पहुँचयोग्य बनाउन समस्या उत्पन्न भएकाले यस कलेजमा सबैको पहुँच पुग्ने गरी व्यवस्थापन गरिनुपर्ने जनाए।


“मदनभण्डारी कलेजलाई विश्वविद्यालय बनाउने योजनामा मेरो सधैं सकारात्मक सहयोग रहन्छ। शिक्षालाई व्यावहारिक बनाउने नीति ल्याउन पनि म संवेदनशील छु”, उनले भने।

सभामुख घिमिरेले जननेता मदन भण्डारी जस्तो द्वन्द्वात्मक भौतिकवादी चेत भएका नेतालाई भावी पुस्ताले अनुसरण गर्नुपर्ने सुनाए। ३० वर्षअघि रहस्यमय मृत्युवरण गरेका भण्डारीको समाज रुपान्तरणको दर्शन अनुसरण योग्य भएको उल्लेख गर्दै उनले भण्डारीका विचारलाई बुझाउने र बुझ्ने दक्ष जनशक्ति निर्माण गर्न आवश्यक रहेकामा जोड दिए।

त्यसअवसरमा उत्कृष्ट एवं स्वर्णपदक पाएका विद्यार्थीलाई सम्मान गरिएको थियो। कलेजका प्राचार्य डा बाबुराम अधिकारीले २३ वर्षको अवधिमा कलेजको शैक्षिक गुणस्तरमा निरन्तर सुधार हुँदै गएको बताए।

त्यसैकारण देशका पाँच उत्कृष्ट कलेजमा पर्न सफल भएको उनले बताए। कार्यक्रममा कलेजको ट्रान्सफर्मेसन इ-बुलेटिन र स्काउट कार्यक्रमसमेत उद्घाटन गरिएको थियो।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here