बालबालिकालाई सघाउन दीर्घकालीन बचतकोष



दमौली । जिल्लाको ऋषिङ गाउँपालिकाले आफ्नो क्षेत्रका बालबालिकालाई आर्थिक अभावबाट जोगाउन हरेक नवजात शिशुलाई जनही पाँच हजार रुपैयाँ प्रदान गर्ने भएको छ । उक्त रकम दीर्घकालीन बचतकोषमा जम्मा गरिदिने भएको छ । 

बालबालिकालाई उपचार तथा शिक्षाका निम्ति आर्थिक समस्या हुन नदिन जन्मने वित्तिकै पालिकाले बच्चाकै नाममा पाँच हजारको दीर्घकालीन बचतकोष खडा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । 


उनले भने, “यो रकमले त्यस्ता बालबालिकाको अध्ययन तथा अन्य कार्यका लागि सहयोग पुग्नेछ । कार्यविधि बनाएर बच्चाको नाममा खाता खोलेर रकम जम्मा गरिनेछ,” त्यसका लागि बच्चा ऋषिङ गाउँपालिकाभित्रकै स्वास्थ्यसंस्थामा जन्मिएको हुनुपर्ने प्रावधान राखिएको छ । 

गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा गर्भवतीले जाँच गराएको र प्रसूति गराएपछि जन्मिने बच्चाको हकमा यो प्रावधान लागु हुने उनको भनाइ छ । 

गाउँपालिकाले विपन्न समुदायलाई निःशुल्क एम्बुलेन्स सेवा, संस्थागत प्रसूतिलाई बढावा, नियमित गर्भजाँच गर्नेलाई पोषण उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले बताए । 

बालबालिकालाई कुपोषणमुक्त बनाउन पोषण सेवा तथा  सबै कार्यालयमा स्तनपानकक्ष स्थापना गरिने उनले जानकारी दिए ।  

अध्यक्ष श्रेष्ठका अनुसार आगामी आर्थिक वर्षदेखि ‘उज्यालो ऋषिङ अभियान, खरको छानोमुक्त ऋषिङ, ऋषिङ फर्क अभियान, एक वडा एक उत्पादन, सासुसँगै बुहारी’ कार्यक्रमलाई सञ्चालन गरिनेछ । साथै गाउँपालिकाका जनप्रतिनिधिको एक महिनाको तलब सामुदायिक विद्यालय सुधारमा खर्च गरिनेछ । वार्षिक रुपमा एक महिनाको तलब अक्षयकोष स्थापना गरी त्यसमा दाखिला गरिनेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here