देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामाग्री बुनेर स्वरोजगार बनेका छन् ।
बुबा—बाजेबाट सिकेको सीपबाट बाँसका सामग्री बनाएर जीवीको चलाउन सहज भएको उनले बताए । उनले बाँसका चोयाबाट स्याङो, गैजा र छातालगायतका सामग्री बुन्ने गर्छन् । गैजा घाँस तथा तरकारी बोक्न प्रयोग हुने गरेको छ ।
“एउटा गैजालाई तीन सयमा र स्याङोलाई रु पाँच सयमा बिक्री गर्ने गरेको छु । गाउँघरमा नै बिक्री हुने गरेकाले बजार खोज्न धेरै टाढा जानुपरेको छैन”, उनले भने,“मेहनत गरेमा आम्दानीको साथै समय सदुपयोग र स्वरोजगार बन्न सहज भएको छ ।”
दिनमा चारवटासम्म गैजा बुन्ने गरेका चौधरीले तिनको बिक्रीबाट १२ सय रुपैयाँ आम्दानी गर्छन् । “अहिलेसम्म बुनेका सामाग्री बिक्री हुँदैनन् कि भनेर चिन्ता गर्नुपरेको छैन । धेरै स्थानीयले आफ्नो बाँस दिएर बुन्न लगाउनुहुन्छ , त्यसमा पनि पैसा आउँछ”, चौधरी भन्छन्,“स्थानीय सरकारले घरेलु सामग्रीलाई प्रोत्साहन गर्ने नीति लिएमा व्यावसायीकरूपमा काम अगाडि बढाउने सोच छ ।”
घरमै बसेर फुर्सदको समय सदुपयोग हुनुका साथै आम्दानी पनि गर्न सकिने यो पेशामा पछिल्लो पुस्ता भने आकर्षित छैन । उनलाई पछिल्लो पुस्ताले यो सीप सिक्न नचाहेको देख्दा आफूसँगै लोप पो हुन्छ कि भन्ने चिन्ता लागेको छ ।
“मैले मेरा बुबाबाजेबाट सीप सिके आफ्नो गर्जो टार्न सहज भएकै छ । अहिले त लगानी गरेमा व्यावसायिकरूपमा काम अगाडि बढाउन सकिन्छ तर नयाँ पुस्ताले सीप सिक्न चासो राखेका छैनन् । अब स्थानीय सरकारले यस्ता परम्परायत सीपको प्रवर्द्धन गर्न जरूरी छ”, चौधरीको अनुरोध छ ।