फिल्डिङ र ब्याटिङमा कमजोरी भए, आगामी दिनमा सुधार गर्छौँ : कप्तान पौडेल



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी टी–२० विश्वकपमा तुलनात्मक रुपमा व्याटिङ कमजोर देखिएको बताएका छन् । 

नेपाल क्रिकेट संघले बिहीबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा कप्तान पौडेलले बलिङ्मा नेपालले धेरै राम्रो गरेपनि विश्वकपमा तुलनात्मक रुपमा व्याटिङ कमजोर देखिएको बताएका हुन् । यद्दपी उनले पिचको कन्डिसनले पनि ब्याट्सम्यानले चाहेजस्तो प्रदर्शन गर्न नसकेको जिकिर गरे । 


आईसीसी टी–२० विश्वकप अन्तर्गतका अन्य खेलहरुमा पनि पिचकै कारण धेरै रन बन्न नसकेको उनको भनाइ छ । कप्तान पौडेलले दक्षिण अफ्रिकाविरुद्धको खेलमा जितको नजिक पुगेर अन्तिम रन बनाउन नसक्दा निकै दुख लागेको बताए ।

 नेपाली टिमलाई अनुभवको धेरै खाँचो रहेकाले आगामी दिनमा बलियो राष्ट्रहरुसंग खेल्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ । उनले फिल्डीङ्मा पनि केहि समस्या देखिएको जिकिर गरे । 

उनले आईसीसी टी–२० विश्वकपसम्म पुग्दा नेपालले धेरै कुरा सिक्ने मौका पाएको भन्दै आगामी दिनमा राम्रो क्रिकेट खेल्ने धारणा राखे ।