प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा सोचेर बस्दिनँः माधव नेपाल



गण्डकी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्ने सोचेर नबस्ने बताएका छन् । बुधबार पोखरामा समाजवादी प्रेस संगठन नेपालले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले पहिले पनि आफू परिस्थितिबाट प्रधानमन्त्री बनेको भन्दै प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा सोचेर नबस्ने बताएका हुन् ।

आफूले प्रधानमन्त्री बन्नलाई मात्र राजनीति नगरेको र पहिले नेपाली कांग्रेस र गिरिजाप्रसाद कोइरालाले आग्रह गरेपछि प्रधानमन्त्री बनेको बताए ।


उनले भने, ‘हिजो गिरिजाप्रसाद कोइरालाले अफर गर्नुभयो । प्रधानमन्त्री बनें । माधव नेपाल कसैसँग झुक्ने मान्छे होइन । प्रधानमन्त्री बन्छु कि बन्दिनँ भनेर २४ घण्टा सोचेर बस्दिनँ ।’

अध्यक्ष नेपालले आफू नेतृत्वको पार्टी फुट्ने विषय हल्ला मात्र भएको बताए । उनले पार्टी फोर्ने दुस्साहस भए त्यो सफल नहुने जिकिर गरे ।

उनले भने, ‘पार्टी फोर्ने दुस्साहस गरेको छ भने सफल हुँदैन । हल्ला चलेको हो । मैले संसदीय दलको बैठक बोलाएको हो । दलको बैठक बोलाउँदा एकताबद्ध भएर अगाडि बढ्ने वक्तव्य दिएको हो । फाटफुट, आयाराम–गयाराम भैरहन्छ । गयारामभन्दा आयाराम बढी छन् ।’

उनले आगामी असार १६ देखि हुने महाधिवेशनमा मिलेर जाने र त्यसका लागि पार्टीमा छलफल भइरहेको बताए । अध्यक्ष नेपालले वर्तमान समीकरण बन्दा यसअघिको समीकरणमा भएका दललाई गाली गर्न आवश्यक नरहेको बताए ।