प्रधानमन्त्री प्रचण्डले भने– राजदूतलाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुगेन



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणअघि राजदूत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुर्याउन नसकेको बताएका छन् । सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भएपनि ध्यान नपुगेको स्वीकार गरे । उनले शर्माले भारत भ्रमणका क्रममा सक्रिय भूमिका खेलेको बताए ।


उनले भने, ‘उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो । र सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो । मैले धन्यवाद पनि भनेर आएको छु । यो त्यही बेला पर्नु संयोग हो । त्यो कुरालाई त्यति ध्यान गएर क्याबिनेटमा यो विषय प्रस्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो ।’