पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनमा आउन नसकेको अवस्थाको अध्ययन गरिने



काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले तत्काल कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी कार्यालय प्रमुख हुने गरी व्यवस्था गर्न निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले मुलुकमा बेरुजु बढ्दै गएकोले आर्थिक अनुशासन र वित्तीय अनुशासन कायम गर्न पुराना बेरुजु असुल उपर गरी समयमा फर्छ्यौट गर्नुपर्ने भएकाले तत्काल कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी कार्यालय प्रमुख हुने गरी व्यवस्था गर्न निर्देशन दिएको हो ।


बैठकले बेरुजु फर्छ्यौट समितिको सचिवालयको रूपमा समेत यस कार्यालयले काम गर्ने भएकाले उक्त समितिमा रहने सदस्यहरूको शिघ्र छनौट गर्न र कार्यालय व्यवस्थापन गर्न समेत निर्देशन दिएको छ । बैठकले कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय भाडामा रहेकाले यस्ता अभिलेखहरू संरक्षण गर्न चुनौती हुने हुँदा कार्यालयलाई शीघ्र सरकारी भवन उपलब्ध गराउन पनि निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।

बैठकले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन नसकेको अवस्थाको अध्ययन गर्न टोली निर्माण गरेर स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ ।