पाकिस्तानमा अहमदिया समुदायका दुई जनाको गोली हानी हत्या



पाकिस्तानमा अल्पसङ्ख्यक अहमदिया समुदायका दुई जनामाथि गोली प्रहार भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा अज्ञात बन्दुकधारीले दुई जनाको गोली प्रहार गरी हत्या गरेका हुन् ।

छुट्टाछुट्टै घटनामा पाकिस्तानको पञ्जाब प्रान्तस्थित मण्डी बहाउद्दिन जिल्लाका ६२ वर्षीय गुलाम सरवर र राहत अहमद बाजवाको गोली हानी हत्या भएको हो ।


प्रहरीका अनुसार बेलुकीको प्रार्थना सकेर घर फर्किँदै गर्दा गुलाम सरवरलाई लक्षित गरी गोली प्रहार गरिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै भारतीय टेलिभिजन इण्डिया टीभीको अनलाइन संस्करणले जनाएको छ ।

त्यसैगरी, अर्को घटनामा आफ्नो केटरिङ पसलबाट घर फर्किँदै गर्दा राहत बाजवामाथि गोली प्रहार भएको थियो । गोली प्रहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय सइद अली राजालाई पक्राउ गरेको छ ।

राजाले बाजवाको आस्थाका कारण आफूले गोली प्रहार गरेको स्वीकार गरेका छन् । उनी तहरिक ए लब्बियाक पाकिस्तान नामक अतिवादी संगठनसंग आबद्ध रहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here