पहिरोमा पुरिएर ३ जिल्लामा शनिबार मात्र ९ जनाको मृत्यु



काठमाडौं । मनसुन सुरु भएसँगै देशभर बाढी पहिरोका घटनामा पनि वृद्धि भएको छ । शनिबरा मात्र देशका तीन जिल्लाहरु गुल्मी, स्याङ्जा र बाग्लुङमा मात्र ९ जनाले ज्यान गुमाएका छन् । जसमा गुल्मीमा एकै परिवारका ५ जना छन् ।

शुक्रबार राती परेको अविरल वर्षात्का कारण गुल्मीको मालिका गाउँपालिकामा एका घरका ५ जनाको निधन भएको छ । मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो ।


पहिरोमा पुरिएर ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले भेषबहादुरको ढुंगामाटोले बनेको दुई तले घर पुरेको थियो । घर पहिरोले पुरिएको बिहान ७ बजे मात्रै जानकारी भएको प्रहरीले जनाएको छ ।

उता बाग्लुङमा पहिरोमा नै परेर एक दम्पत्तिको मृत्यु भएको छ । भेन ३ जना घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

त्यस्तै स्याङ्जामा पनि पहिरोमा परेर २ जनाले ज्यान गुमाएका छन् । फेदीखोला गाउँपालिका वडा नम्बर ५ बाँगेस्थित दुर्गा जिटीको घर पहिरोले बगाउँदा आमा छोरी पुरिएका हुन् ।

घरमा सुतिरहेकी ३१ वर्षीय दुर्गा जिटी र उनकी ३ वर्षीय छोरी निकिसा जिटीको मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

केही दिनदेखि देशभर मनसुन सक्रिय भएसँगै पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि साधारणतया बदली रहेने छ ।कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा लुम्बिनी र कर्णाली प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । गण्डकी प्रदेशका एक९दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ

विभागका अनुसार आज राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशभर धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै देशभर थोरै स्थानहरुमा भारी वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here