पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेका छौँ : गृहमन्त्री लामिछाने



काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन् । आज (बिहीबार) संसद भवनमा पत्रकारसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले पदको दुरुपयोग नगरीकन सन्तुलित रुपमा बजेट विनियोजन गरेको दाबी गरे ।

‘बजेट हामीले सके जति, गर्न सके जति, गर्न परेको आवश्यकताअनुसार विभिन्न ठाउँमा आएको प्राथमिकताअनुसार भएको छ’ उनले भने, ‘पदको दुरुपयोग गरिएको छैन । पदको सदुपयोग गरिएको छ । आवश्यकताअनुसार सकेको गरिएको छ ।’


उनले बजेटमा आफूले सके जति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताए ।

उनले बजेट पास गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन गएर नागरिकहसँग अन्तरक्रिया गर्ने बताए । उनले बजेट निर्माणको प्रणालीमा नै समस्या रहेको उल्लेख गरे ।

‘बजेट पास गरिसकेपछि उहाँहरुसँग चितवन नै गएर अन्तरक्रिया गर्नेछु । आवश्यकता अनुसार जसरी मलाई नागरिकहरुले भन्दै आउनु भएको थियो, मैले पनि यो आवश्यकता नै हो है भनेर प्राथमिकीकरण गरेर गरेको छु,’उनले भने,‘नागरिकको आवश्यकताअनुसार बजेट विनियोजन गरेको छु । बजेट प्रणालीमै समस्या छ । जुन ढंगले बजेट बनाउँछौँ, छलफल गर्छौं त्यो प्रणालीमा नै समस्या छ । छलफल स्वभाविक छ ।’