नेपाल प्रहरीलगायत सुरक्षा निकायलाई राजनीतिबाट मुक्त गर्नुपर्छ : पृथ्वीसुब्बा गुरुङ



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र नेपाली सेनालाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले प्रहरीले कतिपय मुद्दामा सहजरुपमा उजुरी लिन सक्ने अवस्था नभएले समाजमा सुशासन कायम गर्न नसकिएको टिप्पणी गरे । मुुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्दासमेत नेपालको न्याय प्रणालीलाई सङ्घीयताले छुन नसकेको उनको भनाइ थियो ।


यही असार ११ गते राति आएको वर्षाका कारण लमजुङमा धेरै धनजनको क्षति भएको बताउँदै सांसद गुरुङले मृतक परिवारलाई राहत, घाइतेको तत्काल उद्धार र उपचार गर्न सरकारसँग आग्रह गरेका छन् । उनले आगामी दिनमा विपद्बाट बच्न पूर्वतयारीका लागिसमेत आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद गुरुङले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज ७३औँ जन्मजयन्ती भएको उल्लेख गर्दै जनताको बहुदलीय जनवादको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक भएको बताए । उनले जननेता भण्डारीले संसद्लाई शान्तिपूर्ण सङ्घर्षको क्षेत्र बनाउनुपर्छ भन्नुभएको र शान्तिपूर्ण क्रान्तिबाट मुलुकको विकास हुने विचार राख्नुभएको स्मरण गरे ।

राष्ट्रिय स्वतन्त्रत पार्टीका नेता एवं सांसद मनिष झाले सदनमा शून्य समय र विशेष समयमा प्राकृतिक प्रकोपका विषयमा नियमितरुपमा उठिरहेका विषयलाई प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए । उनले आजभन्दा ४८ वर्षअघि ल्याइएको संरक्षित क्षेत्रको अवधारणाविपरित पछिल्लो समय जोखिम आँकलन नगरी जथाभावी डोजर प्रयोग भएले चुरे क्षेत्रमा त्यसको गम्भीर असर परेको धारणा राखे ।

सांसद झाले चुरे तराई मधेसका लागि पानीको मुख्य स्रोत भएको र पछिल्लो समय अनावश्यक दोहनका कारण तराइमा पानीका स्रोत र संरक्षण क्षेत्र दुवै कमजोर भएका बताए । नेपाल सरकारले चुरे क्षेत्रमा वातावरण संरक्षण क्षेत्र घोषणा गरे पनि त्यो पर्याप्त नभएको उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here