नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न



काठमाडौँ । नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरूबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक मंगलबार काठमाडौँमा सम्पन्न भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइतोङले गरेका थिए ।


बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा गर्नुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति तथा विगतमा भएका निर्णयहरुको मूल्याङ्कन गरिएको थियो ।

उनीहरुले आपसी सहमति भएका क्षेत्रमा सहयोगलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पारस्परिक लाभका लागि आर्थिक अवसर सिर्जना गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका मन्त्रालयले जनाएको छ ।

दुवै तर्फबाट नेतृत्व गरेका प्रमुखले शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त, पञ्चशील, आपसी विश्वास, सद्भाव र समझदारी नेपाल–चीन द्विपक्षीय सम्बन्धका प्रमुख विशेषता रहेको दोहोर्याएका थिए ।

परराष्ट्र सचिव लम्सालले सन् २०२६ मा नेपाल कम विकसित मुलुकबाट स्तरोन्नति भएपछि विकास सहयोग अभिवृद्धि गर्न चिनियाँ पक्षको प्रतिबद्धताका लागि धन्यवाद दिएका थिए । उपविदेशमन्त्री वेइतोङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरेका थिए ।

दुवै पक्षले उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई कायम राख्ने विषयमा समेत छलफल गरेका थिए । सन् २०२५ लाई नेपाल चीन भ्रमण वर्ष मनाउने सन्दर्भमा नेपालको पर्यटन सम्भावना प्रवर्द्धन, व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपाय र उपायबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै पक्षले सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवलाई विशेष कार्यक्रम र गतिविधिका साथ मनाउने निर्णय गरेका छन् ।

यस्तै, बैठकले विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र संयुक्त आयोगलगायत नयाँ संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएको छ ।

उपविदेशमन्त्री वेइतोङले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका थिए । उनले बुधबार राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उपविदेशमन्त्री वेइतोङ र उनको प्रतिनिधिमण्डल सोमबार काठमाडौँ आइपुगेको थियो । उनीहरु बुधबार बेइजिङ प्रस्थान गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here