नेपालबाट एक खर्ब ३९ अर्बको वस्तु निर्यात हुँदा १४ खर्ब ५३ अर्बको आयात



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ आयात भएको छ । जुन गत आर्थिकको सोही अवधिको तुलनामा १.८४ प्रतिशतले कम हो ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जेठ २०८० मा मात्र १ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख २६ हजार रुपैयाँ आयात भएको थियो ।


भन्सार विभागका अनुसार यो अवधिमा आयात मात्र नभई निर्यात पनि घटेको छ । विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँको निर्यात भएको छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.०१ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख ४४ हजार रुपैयाँको निर्यात भएको थियो ।

जेठ मसान्तसम्म नेपालको वैदेशिक व्यापार १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख २५ हजार रुपैयाँ पुगेको छ । आयात निर्यातको खाडल बढेसँगै वैदेशिक व्यापारमा नेपालले व्यहोर्दै आएको घाटा पनि बढ्दै गएको छ ।

जेठ मसान्तसम्म नेपालको वैदेशिक व्यापार घाटा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख ५८ हजार रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७२ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा १३ खर्ब ३७ अर्ब ३९ करोड ४५ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।