नेपालको फुड पर्यटनमा सम्भावना छः मास्टर सेफ साह



काठमाडौँ । मास्टर सेफ सन्तोष साहले गणतन्त्रप्राप्तिपछि देश विकास र आर्थिक समृद्धिको बाटोमा अगाडि बढेको बताएका छन् ।

राससले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्बिर प्रदर्शनीको बुधबार अवलोकनपश्चात् उनले राससको तस्बिर प्रदर्शनीले गणतन्त्रपछि विकास भएको छ भन्ने सन्देश प्रवाह गरेको बताए ।


उनले भने, “गणतन्त्रपछि विकासै भएको छैन भन्ने भाष्यहरु बनिरहेका बेला राससले विकास पूर्वाधारका क्षेत्रमा प्राप्त उपलब्धि समेटेर गरेको प्रदर्शनीले देशविकास र परिवर्तनको सकारात्मक सन्देश दिएको छ । युवापुस्तामा ऊर्जा र उत्साह जगाएको छ ।”

सेफ साहले देशको भौतिक पूर्वाधार, आर्थिक समृद्धिका विविध आयामलाई समेटिएको प्रदर्शनीको प्रशंसा गरे । “मलाई एकदमै खुसी लागेको छ, यो प्रदर्शनीका ज्ञानवद्र्धक कुराले । यदि म नआएको भए धेरैकुरा जान्ने अवसर गुम्ने रहेछ ”, उनले भने,“अरु नेपालीजस्तै म सोच्दथे देश विकास भएकै छैन तर राससको तस्बिर अवलोकन गरेपछि थाहा भयो कि देशमा धेरै कुरा भएका रहेछन् ।”

उनले आगामी दिनमा देशविकास र आर्थिक समृद्धिका अझ धेरै विषयवस्तु समेटेर राससले यस किसिमको प्रदर्शनीलाई निरन्तरता दिन जरुरी रहेको बताए ।

“नेपालमा केही प्रगति भइरहेको छ भन्ने कुरा यी तस्बिरले बोलिरहेका छन् । सबै नेपाली सकारात्मक बनेर देश विकासमा लाग्न आवश्यक छ । सकारात्मक सोच र पहलकदमी भए लाग्छ तर पक्कै देश बन्ने छ”, उनको भनाइ थियो ।

सेफ साहलाई राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले प्रदर्शनीमा राखिएका तस्बिरबारे जानकारी गराएाका थिए ।

‘फुड टुरिजम’ प्रवर्द्धन 

सेफ साहले नेपालमा ‘फुड टुरिजम’ को प्रवर्द्धनका लागि आफू लागिपरेको बताए । फुड टूरका लागि आफू भर्खरै कर्णाली गएर फर्किएको र त्यहाँको विकास र प्रगति देख्दा निकै उत्साहित भएको पनि बताए ।

उनले नेपालको फुड पर्यटनमा अत्यन्तै सम्भावना रहेको भन्दै सबै सरोकारवाला मिलेर यसको प्रवर्द्धनमा जुट्नुपर्ने खाँचो औँल्याए ।

पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै सेफ साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को विजेता बनेका  थिए । पाककलामा नेपालका रैथाने खानालाई विश्वमाँझ परिचित गराउने अभियानमा लागेका उनले मधेसको रैथाने परिकार मिथिला थालीको स्वाद नेपालसहित अन्तर्राष्ट्रियस्तरमा पस्किरहेका छन् ।

मिथिला थालीलाई जनकपुर, काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा विस्तार गरेका साहले चाँडै भारत र कतारमा मिथिला थाली विस्तार गर्ने योजना बनाएका छन् ।