देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण छः मन्त्री भण्डारी



कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशभित्रै रोजगारी सिर्जना गर्नका लागि श्रमाधान मेलाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको आयोजनामा आज धनगढीमा आयोजित श्रमाधान रोजगारी मेलाको उद्घाटन सत्रमा उनले यस्ताे बताएका हुन् । 

रोजगारी सिर्जनाका आन्तरिक र बाह्य दुई आयाममा देशभित्र रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने कार्यसँग उद्योग मन्त्रालयले बढी सरोकार राख्ने उनले बताए । रोजगारी प्रवद्र्धनका रुपमा रहेको औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न लगानीसँग सम्बन्धित कानुनमा आवश्यक परिमार्जन गर्न आवश्वयक रहेको मन्त्री भण्डारीले धारणा व्यक्त गरे । 


मुलुकमा सबै सरकारी, सहकारी र राज्यबीच मात्र नभई शासकीय साझेदारीका रुपमा रहेको निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रमासमेत सहकार्य र साझेदारी गर्नुपर्ने अभियानमा श्रम मन्त्रालयको महत्वपूर्ण सुरुआत रहेको उनले उल्लेख गरे ।