दुर्लभ चराको बासस्थान बन्यो रेसुङ्गा र मदाने



गुल्मी । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन् । पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्रमा ३५ प्रतिशत चरा फेला चरा रहेका जानकारी दिए । 

उनका अनुसार यहाँका वनक्षेत्रमा विश्वमा दुर्लभ मानिनेमध्ये ६ प्रजातिका चरा पाइन्छ । नेपालमा पाइने दुर्लभ प्रजातिमध्ये चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिलसहित यो क्षेत्र दुर्लभ चराहरुको बासस्थान बनेको उनले बताए । 


यहाँ नेपालमा मात्र पाइने काँडेभ्याकु पनि फेला परेको छ । पक्षी संरक्षण सङ्घले पछिल्लो पटक गरेकोे चरा गणनाअनुसार रेसुङ्गा वन क्षेत्रमा दुई सय ५९ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा दुई सय ७२ प्रजातिका चरा फेला परेका तथ्यांक छ । समग्र यहाँका वनमा तीन सय पाँच प्रजातिका चरा भेटिएका र यो सङ्ख्या नेपालमा पाइने चरा प्रजातिको सङ्ख्याअनुसार ३५ प्रतिशत रहेको जनाइएको छ । 

समुन्द्र सतहदेखि दुई हजार तीन सय मिटरको उचाइमा रहेको यो क्षेत्र पर्यावरणीय र जैविक विविधताले पनि भरिपूर्ण मानिन्छ । यहाँ पाइने सयौँ प्रकारका वनस्पतिले अतिसङ्कटापूर्ण अवस्थामा रहेका चराको बासस्थानलाई जोगाउन मद्दत पुर्याएको छ । 

सङ्घले गुल्मीको रेसुङ्गा र गुल्मी दरबारमा जीविकोपार्जन तथा संरक्षण समायोजन कार्यक्रममार्फत दुर्लभ चराहरूको खोजी गर्दै आइरहेको छ । यस कार्यक्रमले वन क्षेत्रसँग जोडिएका स्थानीयवासीलाई वन जङ्गलको संरक्षण र संवर्द्धनसँगै आर्थिकोपार्जनमा टेवा पु¥याउने गतिविधि सञ्चालन गरिरहेको छ । 

यहाँ दुर्लभ प्रजातिका चरा भए पनि तिनको संरक्षणका लागि उपयुक्त बासस्थान र खानेपानी अभाव मुख्य चुनौतीका रुपमा रहेको जानकारहरू बताउँछन् । त्यसका अतिरिक्त वन डढेलोका कारण दुर्लभ चराहरु संरक्षणमा थप चुनौती थपिएको नागरिक समाजका संयोजक पदमप्रसाद पाण्डेको भनाइ छ । “जिल्लामा चरा पर्यटन क्षेत्रको प्रचुर सम्भावना छ । यिनको विकास र संरक्षणले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सकिन्छ । त्यसैले  यहाँको वन, जैविक विविधता संरक्षण, वातावरण र वन क्षेत्रको दिगो विकासमा स्थानीय सरकार र सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ”, पाण्डेले भने । 

पछिल्लो समयमा वन डढेलो, विद्युतीय प्रसारण लाइन, खानेपानीको अभाव र वन्यजन्तु एवं चराचुरुङ्गीहरुको अवैध चोरीसिकार आदिका कारण चरा पनि संकटापन्न अवस्थामा रहेका छन् । नेपाल पक्षी संरक्षण संघले विगत छ वर्षदेखि डिभिजन वन कार्यालय गुल्मीसँग सहकार्य गरी चरा गणना र संरक्षणका क्षेत्रमा काम गरिरहेको छ ।