दिपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित



कैलाली । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी घोषित भएका छन् ।

खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमीको प्रायोजन र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रवर्द्धनमा भएको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८०’ को वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका ऐरी र कबड्डीकी बडू सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।


क्रिकेटका ऐरीसँगै भलिबलका टेकराज अवस्थी र भारोत्तोलनका सागर भण्डारी वर्ष पुरुष खेलाडीको मनोनयनमा परेका हुन् । त्यस्तै कबड्डीकी बडूसँगै वर्ष खेलाडी महिलाको मनोनयनमा क्रिकेटकी कविता जोशी र भलिबलकी निरुता ठगुन्ना पनि परेका थिए । यो विधाका उत्कृष्ट खेलाडी पुरुष र महिलाले रु ३५÷३५ हजार प्राप्त गरेका छन् ।

कबड्डीका विष्णुदत्त भट्ट वर्ष प्रशिक्षक घाेषित भए । वर्ष प्रशिक्षक विधामा भारोत्तोलनका जीवन गौतम र एथलेटिक्सका रामचन्द्र जोशी मनोनयनमा परेका थिए । यो विधामा उत्कृष्ट भएका प्रशिक्षकले जनही रु ३० हजार प्राप्त गरेका छन् ।

वर्ष युवा खेलाडीमा भारोत्तोलनका हेमन्त पाल परेका छन् । यो विधामा फुटबलका कुशल देउवा र क्रिकेटका आकाश चन्द मनोनयनमा परेका थिए । विजेताले जनही रु २५ हजार प्राप्त गरेका छन् ।

सुदूरपश्चिम आइकन पुरुष विधामा क्रिकेटका नरेन भट्ट विजेता भएका छन्। यो विधामा एथलेटिक्सका आशिष महर र शारीरिक सुगठनका रञ्जित लामा मनोनयनमा परेका थिए । सुदूरपश्चिम आइकन महिला विधामा एथलेटिक्सकी देवकी धामी विजेता भएकी छन् ।

उक्त विधामा क्रिकेटकी मनिषा बोहोरा र फुटबलकी विर्सना चौधरी मनोनयनमा परेकी थिइन् । सुदूरपश्चिम आइकन पुरुष र महिला विधाका विजेताले जनही रु २०÷२० हजार प्राप्त गरे ।

यसैगरी ‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८०’ को लाइफटाइम अचिभमेन्ट अवार्ड तेक्वान्दो प्रशिक्षक गोविन्द विष्टले प्राप्त गरिन् । उनले नगद रु २५ हजार प्राप्त गरिने । स्पेशल अवार्ड पौडीका अथर्व सिंह र कराँतेका प्रदीप वैजाली मगरले संयुक्तरुपमा प्राप्त गरेका छन् । उनीहरुले जनही १२ हजार पाँच सय प्राप्त गरेका छन् ।

आज एक कार्यक्रमकाबीच विजयी खेलाडीलाई सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री ओमविक्रम भाट, विशिष्ठ अतिथिद्वय सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंह र सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवास शाहीले विजेता र मनोनीत खेलाडीलाई पुरस्कार वितरण गरे ।

पाँचौँ संस्करणको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको हो ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी रहेको थियो । प्रायोजकमा नवजीवन कोपरेटिभ्स लिमिटेड, ठाकुर एग्रो इन्डष्ट्रिज, गरिमा पोलिक्लिनिक एण्ड गरिमा डेण्टल, न्युसिटी पोलिक्लिनिक र सिराज इन्टरनेशनल रहेका थिए ।