दक्षिण अफ्रिकामा सत्तारूढ एएनसीले बहुमत गुमायो, सरकार बनाउन गठबन्धन आवश्यक



दक्षिण अफ्रिकाको सत्तारुढ ‘अफ्रिकन नेसनल कङ्ग्रेस (एएनसी)’ले तीन दशक पुरानो पूर्ण बहुमत गुमाएपछि शनिबार नयाँ सरकार गठनका लागि सहयोगीको खोजीको सामना गर्नुपरेको छ । राष्ट्रपति सिरिल रामाफोसाको दलले बुधबारको निर्वाचनको ९९ प्रतिशत मत गणना सकिँदासम्म ४० प्रतिशत मात्र मत प्राप्त गरेको छ ।

सन् २०१९ मा एएनसीले ५७.५ प्रतिशत मत प्राप्त गरी विजय हाँसिल गरेको थियो । सन् १९९४ मा नेता नेल्सन मण्डेलाले देशलाई अल्पसङ्ख्यक श्वेतहरूको शासनबाट मुक्त गर्दै प्रजातन्त्रमा रूपान्तरण गरेपछि दक्षिण अफ्रिकामा एएनसीले पूर्ण बहुमत प्राप्त गर्दै आएको थियो ।


एएनसीले बजेट र कानून पारित गर्न समर्थनको लागि अन्य पार्टीहरूमा निर्भर अल्पसङ्ख्यक सरकार गठन गर्न अनुमति दिन अब या त गठबन्धन सरकारको लागि वार्ता गर्नुपर्छ, वा कम्तिमा अन्य पार्टीहरूलाई रामाफोसाको संसदमा पुनः निर्वाचनलाई समर्थन गर्न राजी गर्नुपर्दछ ।

“हामीले चुनावअघि नै सबैसँग कुरा गरिरहेका छौं”, एएनसीका उपमहासचिव नोमवुला मोकोन्यानेले भने, “पार्टीको राष्ट्रिय कार्यकारी समितिको बैठक बसेर अन्तिम परिणाम घोषणा भएपछि कार्यदिशा तय गर्नेछ ।” “यो हाम्रो देशमा सरकार र स्थिरता दुवै सुनिश्चित गर्ने बारेमा हो, ” उनले भने । निर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि रामाफोसालाई पार्टीले प्रतिस्थापन गर्न सक्छ कि सक्दैन भन्नेबारे उनले भने, “अहिलेका लागि, यो कुनै मुद्दा होइन ।”

स्वतन्त्र निर्वाचन आयोग (आईईसी) को तथ्याङ्कअनुसार लोकतान्त्रिक गठबन्धन (डीए) २१.७१ प्रतिशतका साथ दोस्रो स्थानमा रहेको छ । पश्चिमी केप प्रान्तमा प्रभाव रहेको डीए गठबन्धनले एएनसीको बामपन्थी परम्परासँग बाझिएको स्वतन्त्र बजारलाई चुनावी नारा बनाएको थियो ।

एएनसीसँग गठबन्धनको सम्भावनाबारे सोधिएको प्रश्नमा डीए पार्टीकी अध्यक्ष हेलेन जिलेले भनिन्, “वार्ता सुरु भएको छैन तर केही सम्पर्कमाध्यम बनेका छन् । अहिले व्यक्तिगतरूपमा कुरा भइरहेको छ ।” उनले एएनसीलाई एक्लै शासन गर्ने प्रयास गर्न दिने सम्भावनालाई पनि इन्कार गरिनन् । उनले एएफपीसँग भनिन्, “दक्षिण अफ्रिकामा अल्पमतको सरकार पूर्ण रूपमा नयाँ हुनेछ तर यो अरूका लागि एक विकल्प हो ।”

तेस्रो स्थानमा पूर्व राष्ट्रपति ज्याकोब जुमाको समर्थन रहेको उमखोन्तो वीसिज्वे (एमके) ले १२.६ प्रतिशत रहेको छ । यो परिणाम एएनसीका पूर्व प्रमुख र केही महिनाअघि स्थापना भएको पार्टीका लागि आश्चर्यजनक नतिजा हो अर्थात् यो एमकेको अपेक्षाभन्दा राम्रो परिणाम हो । निर्वाचनमा वामपन्थी दल इकोनोमिक फ्रिडम फाइटर (ईएफएफ) ले ९.४ प्रतिशतका साथ चौथो स्थानमा हाँसिल गरेको छ ।