तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीमा सूचीकृत हुने



काठमाडौँ । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न लुम्बिनी विकास कोषले मनोनयन दस्तावेज तयार गरी पेस गरेको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०७९/२०८० तथा २०८०/२०८१ को नीति तथा कार्यक्रममा तिलौराकोट पुरातात्विक क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाउने उल्लेख गरिएअनुसार मनोनयन दस्तावेज तयार गरी पेस गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।


फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले गत वर्ष माघमा मनोनयन दस्तावेज संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक केन्द्र (युनेस्को)को विश्वसम्पदा शाखाका प्रतिनिधिलाई बुझाएका हुन् ।

फ्रान्सका लागि नेपाली राजदूतलाई युनेस्कोका निमित्त स्थायी प्रतिनिधिका रुपमा काम गर्ने जिम्मेवारी दिइएको हुन्छ ।

प्राचीन कपिलवस्तुलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न बुझाइएको उक्त मनोनयन दस्तावेजका विषयमा स्थलगत अध्ययन गर्न युनेस्कोको टोली आगामी अगस्ट महिनामा नेपाल आउने कोषले जनाएको छ ।

स्थलगत अध्ययन गरेपछि आगामी सेप्टेम्बर तथा नोभेम्बरसम्ममा प्राचीन कपिलवस्तु विश्वसम्पदा सूचीमा सूचीकृत भएको घोषणा हुने विश्वास गरिएको सदस्य सचिव शाक्यले बताए ।